मानवअधिकार आयोगको उच्चस्तरीय अनुगमन टोली

काठमाण्डु टुडे २०७० मंसिर ३ गते १४:१२ मा प्रकाशित

काठमाण्डु, ३ मंसिर– राष्ट्रिय मानव अधिकार आयोगले संविधानसभाको निर्वाचनका लागि उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ ।

आयोगका कामु सचिव वेदप्रसाद भट्टराईले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउन ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८’ बमोजिम आयोगले विशेषज्ञसमेतको एक उच्चस्तरीय टोली गठन गरेको जानकारी दिएका हुन् ।

सो टोलीमा आयोगका पूर्वसदस्य त्रय रामनगिना सिंह, सुशील प्याकुरेल र डा. केबी रोकाया तथा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका पूर्व स्थायी प्रतिनिधि एवम् पूर्व परराष्ट्र सचिव मधुरमण आचार्य रहेका छन् । उनीहहरूले काठमाण्डु, ललितपुर, भक्तपुर, काभे्रपलाञ्चोकलगायतका जिल्ला तथा आवश्यकतानुसार देशको कुनै पनि भागमा अनुगमन गर्नुहुने आयोगले जनाएको छ ।

आयोगले निर्वाचनमा हुनसक्ने मानवअधिकार हननका घटनालाई लक्ष्यित गरी देशका ७५ वटै जिल्लामा निर्वाचन अघि अनुगमन टोली खटाइसकेको र अनुगमनका क्रममा प्राप्त तथ्यहरूको सम्बन्धमा आयोगले प्रारम्भिक प्रतिवेदन समेत सार्वजनिक गरिसकेको जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us