एमाओवादी नेता दाहालमाथि आक्रमण, चितवनमा निषेधाज्ञा

काठमाण्डु टुडे २०७० मंसिर २ गते १४:५७ मा प्रकाशित

Narayan Dahalचितवन, २ मंसिर–एमाओवादीका कार्यकर्तालाई एमाले युथफोर्सका कार्यकर्ताहरुले आक्रमण गरेपछि उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन चितवनको भरतपुरमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । नेकपा एमाले कार्यालय रहेको भरतपुर आसपासको क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासनले कसैलाई पनि घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ ।

एमाओवादी चितवन क्षेत्र नम्वर ३ का उम्मेदवार नारायण दाहालमाथि एमाले कार्यकर्ताहरुले आइतबार साँझ आक्रमण गरेपछि स्थिति तनावपूर्ण भएको थियो । चितवनको नारायणगढ नजिकै बेलटाँडी भन्ने ठाउँमा सांगठनिक छलफलमा रहेकोबेला एमालेका प्रकाश रेग्मी र शिव खड्की नेतृत्वको टोलीले आक्रमण गरेको एमाओवादी चितवन क्षेत्र नम्बर–३ का प्रचार संयोजक रमेश पौडेलले जानकारी दिए । उनले एमाले हार्ने निश्चित भएपछि आक्रमणमा उत्रिएको आरोप लगाए ।

आक्रमणबाट दाहाल सकुसल रहे पनि एमाओवादीका कार्यकर्ताद्वय अशोक देवकोटा र सुमित लामा घाईते भएका छन् । एमाले युथफोर्सका कार्यकर्ताले उम्मेदवार दाहालले प्रयोग गर्दै आएको बा ६ च ८४९६ र बा ७ च ६४२५ नम्बरका दुईवटा गाडि तोडफोडसमेत गरेका छन् ।

तर, एमाले चितवनले भने आक्रमणमा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दावी गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us