आँधीबाट मर्नेको संख्या २३ सय नाग्यो

काठमाण्डु टुडे २०७० कार्तिक २८ गते ११:५६ मा प्रकाशित

Philippines Floodsमनिला, २८ कात्तिक– फिलिपिन्समा गतहप्ता आएको ‘हाइयान’ नामक आँधीमा परी मृत्यु हुनेको सङ्ख्या २३ सय ५७ पुगेको सरकारी तथ्याङ्कले बिहीबार बिहान जनाएको छ । फिलिपिन्सको द नेसनल डिसास्टर रिस्क रिडक्सन एण्ड म्यानेजमेन्ट काउन्सिलका अनुसार बिहीबार बिहानसम्म ७७ जना बेपत्ता रहेका र तीन हजार ८५३ घाइते भएका छन् ।

फिलिपिन्सका ४३ प्रान्तका ८० लाखभन्दा बढी नागरिक यस आँधीबाट प्रभावित हुन पुगेका छन् । मुलुकको इतिहासमा यो आँधी हालसम्मकै सबैभन्दा भयाङ्कर भएको जनाइएको छ । यस हाइयान आँधीलाई स्थानीय भाषामा ‘योलान्दा’ भन्ने गरिन्छ ।

यस आँधीबाट पाँच लाख ३४ हजार ३४० जना विस्थापित भएका छन् । विस्थापितमध्ये करिब तीन लाख ६० हजार जति मानिस सरकारद्वारा बन्दोबन्त मिलाएको राहत शिविरमा बसोबास गरिरहेका छन् । फिलिपिन्सका अधिकारीहरूले बुधबार दिएको प्रारम्भिक तथ्याङ्कअनुसार यस आँधीबाट एक करोड ७४ लाख अमेरिकी डलर बराबरको अन्य भौतिक संरचनामा क्षति पुगेकोे छ ।

यस आँधीको पूर्ण विवरण अझै प्राप्त हुन सकिरहेको छैन । उद्वारको कार्य जारी नै रहेको बताइएको छ । बुधबारसम्म बन्द गरिएको विमानस्थल आजदेखि खुलेको र उडान सुचारु हुन सुरु भएको जनाइएको छ । तर आँधीबाट तहसनहस भएका ताक्लोबान नगरमा सीमित मात्रामा मात्र विमान उडेका छन् । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us