जनताले नै सफल पार्दैछन् यो निर्वाचन

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ६:२० मा प्रकाशित

काठमाण्डु, ७ कात्तिक–लोकतान्त्रिक शासन प्रणालीको जग बसाउन र देशलाई सही मार्गमा डो¥याउन एउटा सूत्रको खोजीमा संविधानसभाको अर्को निर्वाचनको सङ्घारमा अहिले नेपाली जनता छन् । यो निर्वाचन प्रक्रियाको विरोधमा रहेका केही दलहरुले सिर्जना गरेको देशव्यापी प्रचारले आमजनतामा केही अन्यौल सिर्जना गर्ने प्रयत्न गरे पनि जनता त्यसलाई स्वीकार्न तयार देखिएका छैनन् । उनीहरु चुनावलाई अवसरको रुपमा लिई बाटो विराएको राजनीतिलाई सही बाटोमा ल्याउनु पर्छ भन्ने धारणामा दृढ छन् । हो, उनीहरुले उम्मेदवार र तिनका प्रतिनिधिहरुलाई घरदैलोमा विगतमा के ग¥र्यौ, अब के गर्छौ, तिम्रा एजेन्डा के हुन् ? भन्ने जस्ता प्रश्न तेस्र्याएर आच्छुआच्छु पारिरहेका छन् ।

जनताका यी स्वाभाविक प्रतिक्रिया हुन्, जसका बारेमा नेताहरु पनि जानकार छन् । त्यही भएर उनीहरु चुनावमा अहोरात्र खटिएका छन्, जनतालाई आफ्नो पक्षमा पार्न संविधानसभाका कुरा मात्र होइन, विकासका योजना–कार्यक्रमका आश्वासन लिएर उनीहरुका घरदैलोमा पुगेका छन् । तथापि, ‘खोलो त¥यो लौरो बिस्र्यो’ जस्तो गर्ने नेपाली नेताहरुका कार्यशैलीबाट पूर्ण परिचित भए पनि जनता संविधानसभा चुनावरुपी यो अन्तिम मौकालाई खेर जान नदिने धुनमा छन् ।

चुनाव नेपाली जनताका निम्ति नयाँ र नौलो अभ्यास अब रहेन । खासगरी २०१५ सालदेखि मतदान गर्ने बानी बसिसकेका नेपालीलाई यसको महत्व पनि राम्रैसँग थाहा छ । जनताको मतले वैधानिकता पाएको सरकार नै उनीहरुको चाहना हो । जनताले चुनेर पठाएका प्रतिनिधिबाटै शासित हुने उनीहरुको उत्कट चाहना रहँदै आएको छ । जबजब जनप्रतिनिधिविहीन अवस्था सिर्जना गरिन्छ, तब जनता सडकमा आएका छन् र त्यस्तो शासनलाई आफ्नै जनबलबाट पाखा लगाउन सफल भएका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतले पनि जनप्रतिनिधिविहीन अवस्थालाई बैधानिकता दिन त्यति रुचाउँदैन ।

मुलुकभित्र जननिर्वाचित संरचना नहुँदा अनेक समस्या सिर्जना हुन्छन्ः देशभित्रै राजनीतिक सङ्क्रमणकालको अवस्था आउँछ, राजनीतिक आर्थिक क्षेत्रमा समस्या खडा हुन्छन्, देशी–विदेशी प्रतिक्रियावादीको चलखेल बढेर जान्छ । हामीले विगतमा देख्यौं, तत्कालीन नेकपा–माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण दलीय सहमति र लोकतान्त्रिक विधिबाटै सम्भव हुन सक्यो । यो नेपाली मोडेलको शान्तिप्रक्रिया विश्वमै अनुकरणीय मानिन्छ, भलै त्यसमा केही कमीकमजोरी रहेका होलान् ।

यसर्थ, अहिले संविधानसभाको निर्वाचनबाहेक अर्को विकल्प छैन । निर्वाचनले मुलुकमा अझ द्वन्द्व बढाउँछ भन्ने कतिपय दल र व्यक्ति, खासगरी नेकपा–माओवादीको विचारमा तर्कसंगत आधार छैन । चुनावमा सहभागी नभएर ऊ बाहिर बस्नु नै गलत थियो, तर निर्वाचनमा सहभागी नहुने नै भइसकेपछि त्यो निर्वाचनलाई सफल हुन दिनु नै नेकपा–माओवादीका लागि राजनीतिक बुद्धिमानी हुन्छ । माओवादी नेतृत्वले बहुसंख्यक जनताको भावनालाई पनि आत्मसात गर्नुपर्दछ । देशभित्र र बाहिरका सबै शक्तिले अहिले त्यही चाहेका छन्, चुनाव शान्तिपूर्ण वातावरणमा होस् । चुनावको विरोध गर्नु उसको अधिकार हो, तर अरुले मतदान गर्नै नपाउने गरी विथोल्न उद्यत हुनु किमार्थ सही होइन । चुनावको प्रचारमा हिँडेका उम्मेदबार र उनीहरुका सवारी साधनमा आगजनी गर्ने, हुलहुज्जत गर्ने, तोडफोड गर्नेजस्ता अराजक क्रियाकलापले अन्ततः नेकपा–माओवादीलाई एउटा बलियो, सशक्त, शान्तिपूर्ण र लोकतान्त्रिक विधि तथा प्रक्रिया आत्मसात गर्ने पार्टी हो भन्ने मान्यताबाट टाढा पु¥याउन सक्छ । अझ ठाउँठाउँमा बम राखेको आरोप र अपजसको भागीदार बन्नुपर्ने खतरा पनि माओवादीलाई छ ।

लोकतन्त्रको विकल्प अझ लोकतान्त्रिकरण हो । लोकतन्त्र स्थापित हुने र सर्वस्वीकार्य अवस्था सिर्जना हुने  विश्वव्यापीरुपमा सर्वस्वीकार्य एउटा माध्यम नै निर्वाचन हो । अहिलेको निर्वाचनले देशका अघिल्तिर थाँती रहेका केही जल्दाबल्दा र पेचिला मुद्दाहरुलाई निरुपण गर्नुपर्ने चुनौती छ । ती मुद्दाहरु के हुन् आमजनता र सचेत मतदाता सबैसमक्ष जगजाहेर छ, देशको शासकीय स्वरुप तथा सङ्घीयता । यी दुई मुद्दाले देशभित्र र बाहिरका समस्त नेपालीहरुका मनमस्तिष्कमा तरङ्ग उत्पन्न गरेको छ । कस्तो शासन प्रणाली र कस्तो सङ्घीयता देशमा स्थापित होला भन्नेमा उनीहरुको मन उद्वेलित भइरहेको छ ।

विश्वभर जहाँ रहेबसेका भए पनि नेपालीहरु एक हुने वातावरण त्यस्तो शासन प्रणाली र सङ्घीयताले सुनिश्चित गर्छ वा गर्दैन भन्ने जिज्ञासा र कौतुहल आम नेपालीमा छ । यी विषयमा विगतमा चरम भय संशयको अवस्था रहे पनि अहिले केही सहजता महसुस हुन थालेको छ । उनीहरुमा केही आत्मविश्वास जागृत भएको छ, तर भरपर्दो अवस्था अझै कायम हुन सकेको छैन । देशको राष्ट्रियता र स्वतन्त्रतालाई नै दलहरुले कमजोर पार्ने हुन् कि भन्ने भयका बीच पनि यो चुनाव हुँदैछ । त्यसर्थ, यस्ता पेचिला विषयलाई दलहरुले बुद्धिमानीपूर्वक सम्बोधन गर्न सके नेकपा–माओवादीले शङ्का गरेका कुराहरु स्वतः निस्तेज, निस्प्रभावी हुनेछन् ।

आफ्नै घरआँगनमा आइसकेको चुनावमा मतदान गर्नु र आफूले रोजेको दल तथा उम्मेदवारलाई मत दिनु नै अहिलेका निम्ति श्रेयस्कर हो । यसो गर्दा देशले एउटा राजनीतिक सहमतिको वातावरण निर्माण गर्नेछ, जननिर्वाचित संविधानसभा र व्यवस्थापिका–संसद् गठन हुन पाउनेछ र वैधानिक शासनको एउटा बलियो जग स्थापित हुन पाउनेछ । यो प्रक्रिया नै हालको विश्वको सर्वमान्य राजनीतिक प्रणाली हो । देशलाई थप द्वन्द्वको भूमरीतर्फ धकेल्दा विनास, विकृति र अराजकता मुलुकमा स्थापित हुन पुग्छ जुन आम जनताको अहिलेको चाहना पक्कै होइन । अहिले शान्तिकालीन समय हो, र यो अवधिमा त देशको विकास, निर्माण र औद्योगिक विकासमा ध्यान दिनु पर्दछ । शान्तिपूर्ण नेपालको आम चाहनालाई लत्याएर जबर्जस्ती त्रास, भय र हिंसातर्फ उन्मूख गराइनु कुनै पनि अर्थमा सही होइन ।

नेपालीका घरआँगनमा आइसकेको यो चुनावलाई विल्कुलै निषेध गर्ने र हुनै नदिने सामथ्र्य कसैसँग छैन । यो अवस्थामा आमजनतालाई सहज र निर्भयतापूर्वक मताधिकार प्रयोग गर्न दिनु नै बुद्धिमानी हुन्छ । हो, दलहरु र तिनका नेताहरुको व्यवहार तथा कार्यशैलीबाट जनता चरम निराशामा छन्, तर चुनावको विकल्प पनि उनीहरुसँग छैन ।

चुनाव नभएको अवस्थामा दलहरुले आफूखुशी सहमति गरेर सरकार बनाउने र ढाल्ने खेललाई निर्वाचनले मात्रै ठेगान लगाउन सक्छ । स्थानीय निकायको अवस्थालाई नै हेरौं, दलहरुको मिलेमतोको संयन्त्रले स्थानीय निकायमा राज गर्न थालेको दशौं वर्ष बितिसक्यो । दलका नेताहरु स्थानीय निकायको चुनाव गराउन नै इच्छुक छैनन् । यो जनचाहनाको बर्खिलाप हो । लोकतन्त्रमा पनि स्थानीय निकायको चुनाव भए मतदान गरौँला भनेर जनताले कुरेर बसेको वर्षौं बितिसक्नु दुःखलाग्दो कुरा हो ।

त्यसर्थ, विषम सुरक्षा चुनौतीबीच पनि आसन्न संविधानसभाको निर्वाचनमा मतदान गर्न उत्साहित एक करोड २१ लाख मतदाताको आकाङ्क्षा र अठोट्बाट नै यसपटकको निर्वाचन सफलतापूर्वक सम्पन्न हुने स्थिति स्पष्ट भइसकेको छ । सरकारले पनि सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकेको र प्रमुख दलहरुका नेता–कार्यकर्ता–समर्थक–शुभेच्छुकहरुले मतदान गर्न दिनरात आग्रह गरिरहेको अवस्थामा देशका कतिपय स्थानमा भइरहेका छिटफुट घटना पक्कै बाधक हुने छैनन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us