चारै दलको जित्ने दाबी

काठमाण्डु टुडे २०७० कार्तिक २७ गते ३:२२ मा प्रकाशित

भोजपुर, २७ कात्तिक–भोजपुरमा यसपटक चार राजनीतिक दलले आफूले चुनाव जित्ने दाबीसहित चुनावी रणनीति अपनाएका छन् । अघिल्लो संविधानसभाको निर्वाचनमा भोजपुरको दुवै क्षेत्रबाट एकीकृत नेकपा माओवादी विजयी भए पनि यसपटक नेपाली काँग्रेस, नेकपा एमालेसहित सङ्घीय समाजवादी पार्टीले पनि आफूले चुनाव जित्ने दाबी गर्दै आएका छन् ।

अघिल्लो निर्वाचनको विराशत जोगाउन एमाओवादीले कसरत गरिरहेको छ भने एमाले अघिल्लो संविधानसभाबाहेक २०४६ सालदेखि विजयी भइरहेका कारण आफ्नो लालकिल्ला फिर्ता गर्न लागिपरेको छ । २०१५ साल यता जिल्लामा विजयको झन्डा गाड्न नसकेको काँग्रेस यसपटक भने जित निकाल्ने दाउँमा छ ।

भोजपुर क्षेत्र नं १ मा यो पटक काँग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई उम्मेदवारका रुपमा क्षेत्रीय समितिले सिफारिस गरे पनि अन्तिममा समानुपातिकमा बसेपछि उनको स्थानमा धर्मराज राईलाई उठाइएको छ । पछिल्लो समयमा जिल्लामा काँग्रेसको पक्षमा जनलहर बढेकाले योपटक आफूहरुले दुवै क्षेत्रमा बाजी मार्ने काँग्रेसका उम्मेलवार धर्मराज राई बताउँछन् ।

२०४६ देखि २०५६ सालसम्म जिल्लाका दुवै क्षेत्रमा लगातार विजयी हुँदै आएको नेकपा एमालेलाई २०६४ सालको पहिलो संविधानसभाको चुनावमा नेकपा माओवादीले धक्का दिएको थियो । काँग्रेसलाई पराजित गर्दै निरन्तर जित निकालेको एमाले २०६४ सालमा पराजित भएपछि त्यसको बदला योपटक लिने योजनामा लागेको छ । २०६४ को निर्वाचनमा गुमेको शाख फर्काउने गरी एमालेले चुनावी प्रचारप्रसार र घरदैलो अभियानलाई तीव्र बनाएको नेकपा एमाले भोजपुरका जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख मकरबहादुर खड्काले बताए ।

योपटक एमालेलाई उसैका पूर्वकार्यकर्ताहरुको पार्टी सङ्घीय समाजवादीले जिल्लामा चुनौती दिने भएका छन् । सङ्घीय समाजवादीले दुवै क्षेत्रमा एमाले त्यागेर सङ्घीय समाजवादीमा आएका अजम्बर काङमाङ राई र आशकुमार राईलाई उठाएपछि एमालेलाई केही अप्ठ्यारो पर्ने आङ्कलन गरिएको छ । एमाले क्षेत्र नं. २ का उम्मेदवार शेरधन राई भने पार्टीबाट बाहिरिएका केही व्यक्तिले एमालेविरुद्ध अफवाह फैलाएर भोट तान्ने कोसिस गरे पनि आफूहरुले त्यो अफवाहलाई चिरेकाले दुवै क्षेत्रमा एमाले विजयी हुने बताउँछन् । ‘एमाओवादीको उग्रवामपन्थी नारा र सङ्घीय समाजवादीको उग्र जातीय नारा दुवैले भोजपुरे जनतालाई भ्रममा राखेका छन् । यो पटकको चुनावमा एमालेले ती दुवै भ्रमलाई चिर्दै जित पक्का गर्ने छ,’ राईले भने ।

किरात राईहरुको बाहुल्यता रहेको भोजपुरमा सङ्घीय समाजवादी पार्टी नेपालले उनीहरुकै भोटलाई सदुपयोग गरेर चुनाव जित्ने दाबी गर्दै चुनावी प्रचारलाई तीव्र बनाएको छ । पार्टीले चुनावीसभा, कार्यकर्ता भेटघाट र पार्टी प्रवेशका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । सङ्घीय समाजवादी पार्टीले पनि आफ्नो पक्षमा मत परिणाम ल्याउन चुनावी कार्यक्रमलाई तीव्र पारेको छ । सङ्घीय समाजवादीका केन्द्रीय उपमहासचिव तथा भोजपुर क्षेत्र नं. १ का उम्मेदवार अजम्बर काङमाङ राईले ठूला तीन दलको वैकल्पिक शक्तिका रुपमा आफूहरु आएकाले आफ्नो जीत पक्का भएको दाबी गरे ।

करिब ३४ प्रतिशत किरात राईको जनसङ्ख्या रहेको भोजपुरमा अधिकांश उम्मेदवार त्यही समुदायबाट छन् । चार ठूला दलका प्रतिस्पर्धीमध्ये एकजना क्षेत्री र एकजना दलित समुदायका बाहेक अरू किरात राई समुदायका हुन् । सबैभन्दा बढी जनसङ्ख्या भएका किरात राईको बढीभन्दा बढी भोट आफ्नो पक्षमा तान्न सबै दल लागिपरेका छन् । दुवै क्षेत्रमा सङ्घीय समाजवादीले एमाले त्यागेर पहिचानको मुद्दा उठाएर  भोट तान्ने प्रयास गरिरहेको छ  ।

भोजपुर जिल्लामा योपटक २०६४ सालमा भन्दा दल र उम्मेदवारहरु बढे पनि मतदाताको सङ्ख्याका भने घटेको छ । जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार २०६३ सालको मतदाता नामावलीमा मतदाता सङ्ख्या एक लाख ६६ हजार ५० जना थियो भने २०७० सालको फोटोसहितको मतदाता नामावलीमा मतदाता सङ्ख्या ९० हजार ९४२ मात्र  रहेको  जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us