मतदाता परिचयपत्र वितरण सुरु

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १७:४९ मा प्रकाशित

काठमाण्डु/ताप्लेजुङ, २६ कात्तिक-निर्वाचन आयोगले संविधानसभा निर्वाचनमा मतदान गर्न सहज हुने गरी मतदाता परिचयपत्र वितरण सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा मंगलवार आयोजित विशेष कार्यक्रममा फोटोसहितको रङ्गीन परिचयपत्र प्रदान गरी वितरण कार्यको औपचारिक सुरुवात गरेका हुन ।
हेलिकोप्टरमा मतदाता परिचय पत्र लिएर फुङलिङ आउनुभएका प्रमुख आयुक्त उप्रेतीले पत्रकारद्वय फुङलिङ गाविस–४ निवासी राजेन्द्र श्रेष्ठ र दोखु गाविस–१ निवासी आनन्द गौतमलाई मतदाता परिचयपत्र प्रदान गरेका थिए ।
निर्वाचनअघि नै सबै मतदाताको हातहातमा परिचयपत्र पुग्ने जानकारी दिँदै श्री उप्रेतीले यसका लागि मतदाताले पनि सक्रियता देखाउन आग्रह गरे । चुनाव बहिस्कारका सन्दर्भमा भइरहेका घटनाका सम्बन्धमा प्रकाश पार्दै  प्रमुख आयुक्त उप्रेतीले लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई भएपनि अबरोध गर्ने अधिकार नभएकाले अवरोध गर्नु गैरकानुनी हुने बताए ।
अहिलेको विरोध सामान्य भएको बताउँदै उनले १७ हजार उम्मेदवार, एक करोड २१ लाख मतदाता र ४ लाख २५ हजार कर्मचारी चुनावी मैदानमा उत्रिएपछि यो विरोध पनि नगन्य हुने बताए । सरकारले सुरक्षा व्यवस्था मजबुत बनाएकाले सबैलाई निर्धक्क भएर मतदान गर्न जान पनि उनले आग्रह गरे ।
मतदाता परिचयपत्र वितरण व्यवस्थापनसम्बन्धी मापदण्ड तथा मार्गदर्शन–२०७० अनुरुप मतदानपूर्व नै मतदाता परिचयपत्र वितरण गर्ने आयोगको कार्यक्रम रहेको आयोगले जनाएको छ । आयोगले मङ्सिर २ गतेसम्म नगरपालिका र गाविसका वडा कार्यालयमार्फत मतदाता परिचयपत्र वितरण गर्ने भएको छ ।
परिचयपत्र वितरण गर्दा सम्बन्धित मतदाता आफैँ उपस्थित हुन नसकी निजको एकाघरको सदस्य उपस्थित भएको अवस्थामा मतदातासँग निजको सम्बन्ध स्थापित हुने आधिकारिक प्रमाण हेरी एकीन भएपछि उक्त परिचयपत्र उपलब्ध हुनेछ ।
आयोगका प्रवक्ता राईले परिचयपत्र वितरण स्थलमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूको सहमति÷रोहवरमा पनि परिचयपत्र वितरण गर्ने व्यवस्था गरिएको जानकारी दिए ।
आगामी संविधानसभा निर्वाचनमा एक करोड २१ लाख ४७ हजार ८६५ मतदाता छन् । तीमध्ये पुरुष ५९ लाख ८० हजार ८८१ (४९.०२ प्रतिशत), महिला ६१ लाख ६६ हजार ८२९ (५०.७७ प्रतिशत) र तेस्रो लिङ्गी १५५ रहेको आयोगले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us