मन जित्नै कठिन

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते १०:३८ मा प्रकाशित

sundhuli-party-electionसिन्धुली, २६ कात्तिक– यस जिल्लाका उम्मेदवारलाई चुनाव प्रचारका सिलसिलामा जनताले तेस्र्याएका अनेकौं प्रश्नको चित्तबुझ्दो जवाफ दिँदै उनीहरूको विश्वास आर्जन गर्न अघिल्ला निर्वाचनको तुलनामा यसपटक निकै ठूलो कसरत गर्न परिरहेको छ ।

अघिल्लो निर्वाचनमा सिन्धुलीवासीले भोट दिएर पठाएका सभासद्ले संविधान लेख्न त परैजाओस् जुन पार्टीबाट मत पाएर विजयी भएका थिए, त्यो पार्टी नै परित्याग गरेका कारण यसपटक उनीहरूलाई जनताको मन जित्न निकै सङ्घर्ष र कसरत गर्नुपरेको हो । संविधानसभाको अघिल्लो निर्वाचनमा क्षेत्र नम्बर १ बाट नेकपा (एमाले)को टिकटमा विजयी भएका सभासद विषमलाल अघिकारी दनुवारले अहिले आफ्नो मातृपार्टी छाडेर एमाओवादीमा प्रवेश गरेका छन् ।

यसैगरी, क्षेत्र नम्बर २ र ३ बाट एमाओवादीका तर्फबाट चुनिएका जनप्रतिनिधिमध्ये सिपी गजुरेल र निरु दर्लामी पार्टी विभाजनपछि नेकपा–माओवादीको केन्दीय स्तरको जिम्मेवारी सम्हाली रहेका छन् । उनीहरू दुवै जनाले आमजनतालाई अहिले निर्वाचनको पक्षमा नभर्ई विपक्षमा उभिएर प्रतिकार गर्न आह्वान गरिरहेका छन् ।

जिल्लाका तीनवटै क्षेत्रबाट निर्वाचित अघिल्ला जनप्रतिनिधिका यस्तो प्रवृत्तिले दल र उम्मेदवारको विश्वासको कद घटाएको मात्र नभई अब निर्वाचित हुने व्यक्तिले समेत पदीय जिम्मेवारीअनुरुप मतदाताको पक्षमा काम गर्लान् भन्नेमा अधिकांश सिन्धुलीवासीले आशङ्का गरिरहेका छन् । तथापि, जनताको मन जितेर निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन सबै उम्मेदवार जिल्लाको एक नगरपालिकासहित ५३ गाविसमा घरदैलो कार्यक्रम सकेर जिल्ला सदरमुकाम फर्कन थालिसकेका छन् । यस जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा गरी एक कुल लाख चालिस हजार ७९ मतदाता छन् ।

जिल्लाबाट एमाओवादीका तर्फबाट पोलिटब्युरो सदस्यद्वय हरिबोल गजुरेल, गङ्गानारायण श्रेष्ठ र लेखनाथ दाहाल चुनावी मैदानमा छन् । त्यस्तै काँग्रेसका नेता विपीन कोइराला, मोहन बराल र खड्गबहादुर वाइबाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । एमालेका युवा नेता गणेश पहाडी, उमा कोइराला र कमलजङ्ग राई पनि चुनावी प्रतिस्पर्धामा अगाडि छन् ।
एमालेका उम्मेदवार पहाडीले निर्वाचन प्रचारको क्रममा मतदातालाई केन्द्रित गरेर घरदैलो कार्यक्रम गरिएको तर जनतालाई विश्वासमा लिन निकै मेहनत गर्नुपरेको जानकारी दिए । उनले भने, “जति नै विश्वासमा लिन प्रयत्न गरेपनि मतदाताले संविधान बनाउँलान् भनेर ज्यादै कम विश्वास गरेका छन्, पार्टीको नीतिकै पक्षमा वकालत गरेर भोट मागेका छाैँ ।”

एमाओवादीका उम्मेदवार गजुरेलले विगतको निर्वाचनमा जस्तो उत्साह नरहेको र संविधान लेखिन्छ/लेखिँदैन भन्ने पाटोबाट जनताले आशङ्का गरिरहे पनि संविधानको सुनिश्चितता र जिल्लाको समृद्धिका लागि आफूलाई मतदाताले साथ दिने बताए । काँग्रेसका उम्मेदवार मोहन बरालले निर्वाचनको माहोल राम्रो रहेको, धरै मतदाताले आफ्नो पक्षमा मतदान गर्ने बचन दिएको र अन्य दलका तर्फबाट समेत सद्भाव रहेकाले शान्तिपूर्ण वातावरणमा मतदान भइदिए परिणाम आफ्नो पक्षमा आउने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us