पानी दिनेलाई भोट !

काठमाण्डु टुडे २०७० कार्तिक २६ गते ३:१६ मा प्रकाशित

अत्तरिया, २६ कात्तिक–कैलालीको गोदावरी गाविसका जनताले पानी दिनेलाई संविधानसभामा भोट दिने बताएका छन् । निर्वाचन प्रचारप्रसारका लागि घरदैलोमा पुगेका त्यस क्षेत्रका सबै उम्मेदवारसँग उनीहरुले पानी दिनेलाई भोट दिने बताएका हुन् ।

गोदावरी गाविसका अधिकांश वडामा खानेपानीको चरम अभाव हुँदै आएको छ । त्यहाँका बासिन्दा खानेपानीका लागि एक घन्टाको पैदल दूरीमा रहेको मछेली खोला धाउँदै आएका छन् । गाउँमा भूमिगत स्रोतबाट पानी नआउने गरेकाले गोदावरीका बासिन्दालाई खानेपानीको निकै समस्या रहेको स्थानीय प्रेम बडैलाले बताए । उनका अनुसार भोट माग्न गाउँ आउने नेतासँग यहाँका जनताको माग खानेपानी नै रहेको छ । चुरेफेदीसँग जोडिएको गोदावरी गाविसमा खानेपानीको समस्या वर्षौं अघिको हो । भूमिगत स्रोतबाट पानी निकाल्दा स्रोत साधनले नभ्याउने र पानीको स्रोत नभेटिने गरेकाले यस क्षेत्रका जनताले निकै सास्ती खेप्दै आउनुपरेको छ ।

गोदावरी गाविसस्थित मछेली खोलामा झन्डै तीस वर्षअघि निर्माण कार्य सम्पन्न भएको मोहना सिँचाइ आयोजना यतिखेर लथालिङ्ग अवस्थामा पुगेकाले सो आयोजना बन्नुपर्ने जनताले माग गरेको नेपाली काँग्रेस क्षेत्र नं. ५ का उम्मेदवार दीर्घराज भाटले बताए । गोदावरीका जनताले आफूहरुसँग खानेपानी, बाटो, मोहना सिँचाइ आयोजना र कटानको समस्या राखेको एमाओवादीका राज्य समिति सदस्य उद्धव भट्टराईले बताए ।

कैलालीको मालाखेती, गोदावरी र कञ्चनपुरको कृष्णपुर गाविसमा सिँचाइको उपलब्धता पु¥याउने उद्देश्यले बनाइएको सो आयोजनाको मछेली खोलामा निर्माण गरिएको बाँध बगाएपछि आयोजना लथालिङ्ग अवस्थामा पुगेको हो । वि.सं. २०३६ मा सर्वे गरी २०३८ देखि सिँचाइ आयोजनाको बाँध बनाउने  कार्य सुरु भई २०४२ सालमा सम्पन्न भएको थियो । आयोजना सम्पन्न भएपश्चात पाँच वर्षसम्म नहरमा नियमित पानी चलेको स्थानीय बताउँछन् ।

नेपाल सरकारको नौं करोडको लागतमा निर्माण कार्य सम्पन्न भएको मोहना सिँचाइ आयोजनाबाट तत्कालीन अवस्थामा मालाखेती र गोदावरी गाविसमा एक हजार चार सय  हेक्टर तथा कञ्चनपुरको कृष्णपुरमा छ सय हेक्टर गरी कुल दुई हजार हेक्टर जमिनमा सिँचाइ उपलब्धता गराउने लक्ष्य रहेको सुदूरपश्चिम सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । सो आयोजनाबाट तीन हजार घरधुरी लाभान्वित हुने लक्ष्य लिइएको थियो ।

मूल समस्या खानेपानी र नहरकै हो– गोदावरी–५ का नवलकिशोर कडायतले भने, ‘हामी पानी दिनेलाई भोट दिन्छौं ।’ रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us