फिलिपिन्सका आँधी प्रभावितलाई विश्वको सहयोग

काठमाण्डु टुडे २०७० कार्तिक २५ गते ७:५३ मा प्रकाशित

मनिला, २५ कात्तिक–फिलिपिन्समा आएको पछिल्लो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० हजार भन्दा पनि बढी हुनसक्ने आशङ्का बढिरहेको बेला विश्वका विभिन्न संस्था तथा देशहरुले सहयोग पठाइरहेका छन ।
सो आँधीमा परी मारिनेको सङख्या दश हजार भन्दा पनि बढी हुनसक्ने अनुमान सबैतिर गरिएको छ । साथै अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले पनि त्यहाँको मानवीय क्षतिको यकिन विवरण नआएको भएपनि यसको सङ्ख्या दश हजारको नजिक रहेको बताएको छ ।
सो आँधीका पीडितलाई विभिन्न देशले आइतबारदेखि सहायता पठाउन थालेका बताइएको छ । संयुक्त राज्य अमेरिका, संयुक्त राष्ट्रसङ्घ र अष्ट्रेलियाले आइतवारदेखि नै आपतकालीन सहायता पठाउन थालेका हुन् ।
पूर्वी द्वीप लेट तथा समरलाई भूमध्यसागरीय शक्तिशाली आँधी ‘सुपर टाइफुन हेयान’ले प्रभावित बनाएको छ । सो आँधीका कारण त्यहाँको जनजीवन तहसनहस बनाएको छ । आँधीले आधारभूत पूर्वाधारहरु पनि भत्काएको छ ।
जसका कारण नागरिकलाई खाना र बस्नको लागि पनि समस्या परिरहेको छ । सुरुमा उनीहरुलाई सामान्य रुपमा बस्न र खानका लागि आवश्यक सामग्री र खाद्यान्न त्यहाँ पठाइएको छ ।
अष्ट्रेलिया र अमेरिकाले आपतकालीन सैनिक सहयोग र उद्वारका लागि उद्वारकर्मीहरु पनि पठाएका छन । आँधीले पु¥याएको क्षतिको आंकलनसँगै उद्वारको काम पनि जारी रहेको छ ।
हेयानले लेट तथा समरलाई शुक्रबार सबैभन्दा बढी प्रभावित बनाएको छ भने त्यहाँ प्रतिघण्टा ३१५ किलोमिटरको दरमा हुरी चलेको थियो । यसअघि सो आँधीमा परी एक सय जना मारिएका थिए ।
आँधीको सबैभन्दा बढी प्रभाव पारेको क्षेत्रमा सञ्चार अवरुद्ध भएको छ भने ऊर्जा तथा टेलिफोन सञ्जाल नष्ट भएका छन् ।
ती क्षेत्रमा उद्वारको कामसँगै सञ्चारलगायतका विभिन्न आधारभूत सहायताको काम भइरहेको छ । सो क्षेत्रमा प्रारम्भिक रुपमा तयार पारिएको क्षतिको अनुमान प्रतिवेदनमा कम्तीमा पनि दश हजार जनाको ज्यान गएको छ ।
तर त्यसमा परी मारिएका नागरिकमध्ये करिब चार सयजनाको मात्र सव भेटिएको छ । यस आँधीको पूर्ण विवरण अझै प्राप्त हुन सकिरहेको छैन । उद्वारको कार्य जारी छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us