
नेपालगन्ज, २५ कात्तिक–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आसन्न संविधानसभाको निर्वाचनपछि आफ्नो दलको नेतृत्वमा संविधान निर्माण हुने बताएका छन ।
बाँके जिल्ला ईन्द्रपुर गाविस जुगनभरियामा सोमबार आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले भने ‘नेपाली जनता लोकतन्त्रका पक्षधर भएकाले यो निर्वाचनमा आफ्नो दललाई बहुमतका साथ विजयी बनाउँछन् ।’
बाँके जिल्ला क्षेत्र नं ३ का उम्मेदवार समेत रहेका कोइरालाले भने ‘जनतालाई भ्रममा पार्ने दलहरुका कारण संविधान निर्माण हुन सकेन, त्यो कुरा जनताले अहिले बुझेकाले नेपाली काँग्रेसको जित निश्चित छ ।’
‘तपाइँहरुलाई कुनै दलका नेता र उम्मेदवारले यो दिन्छु वा यो गर्दिन्छु भन्यो भने त्यो कुरा साँचो हो कि होइन बुझेर मात्र भोट दिनु होला’—उनकाृ आग्रह थियो । सभापति कोइरालाको थप भनाइ थियो–‘साँचो र अर्थपूर्ण लोकतान्त्रिक व्यवस्था त्यही हो, जहाँ जनताको मताधिकारलाई महत्व दिइन्छ, जनताको मतलाई नमान्नेहरु लोकतान्त्रिक हुनै सक्दैनन् ।’
‘आसन्न संविधानसभाको निर्वाचनपछि दलीय सहमतिमा संविधान निर्माण अवश्य हुन्छ’ उनले भने‘तर त्यसका लागि नेपाली काँग्रेसलाई पहिलो शक्तिका रुपमा स्थापित गर्नु आवश्यक ।
“नेपाली जनताले राजनीतिक दलहरुले विगतमा खेलेको भूमिकाको मूल्याङ्कन गरेका छन्, अब कसैले जनता छक्याएर भोट पाउँछु भन्ने भ्रम नपाले हुन्छ”–सभापति कोइरालाको चेतावनी थियो । रासस