मेची-काली अभियान : एक्सप्रेस बहुमत

काठमाण्डु टुडे २०७० कार्तिक २४ गते १:५९ मा प्रकाशित

Birtamode.jpg Prachanda.jpg 1बुटवल, २४ कात्तिक-झापाको काँकडभिट्टाबाट बुधवार सुरु भएको एकीकृत नेकपा माओवादीको बहुचर्चित मेची–महाकाली राष्ट्रिय जागरण अभियान अन्तरगत ४२ वटा जनसभा सम्पन्न भएका छन् । ती सभाहरुमा करिब २ लाखको हाराहारीमा प्रतिनिधिमूलक जनसहभागिता रह्यो । यसपटक तराई मधेशमा ७० सिट जित्ने उद्देश्यका साथ सुरु गरिएको अभियान विना कुनै अवरोध संचालन भइरहेको छ ।

एमाओवादी मात्र देशव्यापी अभियानमा

चुनावको सन्दर्भमा कुनै एउटा दलले यति ठूलो राष्ट्रिय अभियान चलाएको संभवत यो पहिलो हो । यसअघिका चुनावहरुमा समेत अन्य कुनै पनि दलहरुले यसखालको अभियान चलाएको देखिएको छैन । यसलाई एमाओवादी नेताहरुले ‘राष्ट्रिय जिम्मेवारीवोध’को संज्ञा दिएका छन् । नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललगायतका नेताहरु आ–आफ्नै निर्वाचन क्षेत्रको चुनावी प्रचारमा व्यस्त छन् । तर, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठहरु भने देश दौडाहामा छन् । अरु दल र तिनका नेताहरुले आफ्नो लागि मात्र चिन्ता गरेकाजस्तो देखिन्छ भने एमाओवादीका नेताहरुले देशैभरको लागि सोंच्ने गरेको मेचीमहाकाली अभियानले देखाएको छ । माओवादी अभियानबारे मेचीनगर १० काँकडभिट्टाका एक व्यावसायीले नाम उल्लेख नगर्ने सर्तमा भने ‘काँग्रेस, एमालेका नेताहरुले पार्टीगत स्वार्थलाई केन्द्रविन्दुमा राखेर चुनाव प्रचार गरेको देखियो तर एमाओवादीका नेताहरुले राष्ट्रिय हितलाई मध्यनजर गर्दै चुनाव प्रचार गरेको देखियो ।’

अभियानले पूर्वी क्षेत्रमा एमाओवादीको पक्षमा नयाँ लहर सृष्टि गरेको मतदाताहरु बताउँछन् । अघिल्लो संविधानसभामा नेकपा एमालेलाई मतदान गरेको बताउने सुनसरी महेन्द्रनगरका हार्डवेयर व्यावसायी गोविन्द दाहाल भन्छन्, ‘यो अभियानले एमाओवादीको पक्षमा उत्साहजनक जनलहर देखाएको छ । अबको चुनावमा यसले ठूलो महत्व राख्ने पक्का छ ।’

इतिहासको निष्पक्ष मूल्याङ्कन गर्दै प्रचण्ड

तराई मधेशमा जारी चुनावी सभाहरुमा अध्यक्ष प्रचण्डले नेपालका विभिन्न क्रान्ति र त्यसपछि बनेका सरकारहरुको कामको सटिक समीक्षा प्रस्तुत गरिरहेका छन् । राणा शासन विरोधी आन्दोलनको नेतृत्व गरे वापत जनताले २०१५ सालको आमनिर्वाचनमा नेपाली काँग्रेसलाई दुईतिहाई बहुमत दिएको र २०४६ सालको आन्दोलनमा खेलेको सक्रिय भूमिकाको निम्ति पनि उसलाई बहुमत दिएपनि काँग्रेसले त्यसलाई बचाउन नसकेको प्रचण्डको विश्लेषण छ ।

‘दुईपटक बहुमत पाउदा पनि बुढो रुखको भारीले किचिएर काँग्रेस उठ्नै नसक्ने गरी थला प¥यो,’ प्रचण्डले थपे, ‘अब काँग्रेसबाट देशको समृद्धि सम्भव छैन । हिङ्ग नभएपनि हिङ्ग बाँधेको टालो बाँकी थियो, गिरिजाप्रसाद कोइरालाको देहावसानसँगै त्योपनि सिद्धियो ।’ २०१५ सालमा दुईतिहाई बहुमत पाएको नेपाली काँगे्रसका तत्कालीन नेता विपी कोइरालाले संविधानसभाको मुद्दा थाँति राख्नेगरी राजा महेन्द्रसँग सम्झौता गरेर जनतालाई धोका दिएको प्रचण्डको टिप्पणी थियो ।

त्यस्तै २०५१ सालपछि एमालेलाई पनि जनताले हेर्न खोजेको भन्दै प्रचण्डले मदन भण्डारी जस्तो गतिशील नेतालाई बचाउन नसकेर एमाले गंभीर विचलनमा फसेको टिप्पणी गरे ।

२०१५ र २०४६ सालमा काँग्रेसलाई बहुमत दिनु र २०५१ पछि एमाललेलाई हेर्न खोज्नु त्यतिवेला जनताको विवेकशील निर्णय भएको भन्दै प्रचण्डले सो अवधिमा ती पार्टीले जनताको लागि सिन्को पनि नभाँचेकोले अब बहुमत पाउने पालो एकीकृत नेकपा माओवादीको भएको जिकिर गरे । ‘संविधानसभा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता, समावेशी लोकतन्त्र माओवादीका एजेण्डा र नीति हुन्, त्यसैले यसपटक आफूहरुले राज्यको नेतृत्व गर्न पाउनुपर्छ,’ प्रचण्डको दावी छ ।
विपक्षी पार्टी काँग्रेस र एमालेको इतिहासबारे मोरङको विराटचोकमा प्रचण्डको भाषण ध्यानपूर्वक सुनिरहेका राजेन्द्र भट्टराईले भने, ‘प्रतिपक्षी पार्टीको राम्रा पक्षको समेत खुलेर चर्चा गर्नसक्ने नेता मैले प्रचण्डलाई मात्र देखें ।’

प्रचण्डको ‘फराकिलो’ चिन्तनको खुलेर प्रशंसा गर्दै झापा चन्द्रगढी निवासी गौतम थरका एक प्राध्यापक भन्छन् ‘आगामी चुनावमा एमाओवादीले जस्तोसुकै परिणाम ल्याएपनि देशको निकास दिनसक्ने एकमात्र नेता भनेको प्रचण्ड नै हो ।’

नेतृत्व स्थापनाको महत्व बुझाउँदै बाबुराम र नारायणकाजी

भूमिगत रुपमा सम्पन्न २०५७ सालको दोश्रो राष्ट्रिय सम्मेलनले क्रान्तिको सफलताको लागि नेतृत्व केन्द्रीकरण र नेतृत्व स्थापनाको महत्वलाई प्राथमिकताका साथ उठाएको थियो । भरोसायोग्य नेतृत्व विना कुनै पनि क्रान्ति सफल नहुने निचोडमा उहिल्यै पुगेको एकीकृत नेकपा माओवादीले संविधानसभा निर्वाचन २०७० को सिलसिलामा फेरी यो विषयलाई महत्वका साथ उठाइरहेको छ । अभियानको क्रममा तराईमधेशका विभिन्न चुनावी सभाहरुमा पूर्वप्रधानमन्त्री तथा नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले सम्बोधनको क्रममा यो विषय छुटाएका छैनन् । उनीहरुले ‘प्रचण्डको कुशल नेतृत्वमा हिजो संसारै हल्लाउने जनयुद्ध भएको र अबको क्रान्ति पूरा हुने’ कुरा सभाहरुमा गरिरहेका छन् । तर अब जनयुद्धकालमा जस्तो पार्टी र जनमुक्ति सेनाको सर्वोच्च कमाण्डरको रुपमा होइन ‘पार्टीको अध्यक्ष र प्रत्यक्ष निर्वाचित राष्ट्रपति’ को रुपमा प्रचण्डले समृद्धशाली नेपाल निर्माणको लागि भूमिका निर्वाह गर्ने कुरा बाबुराम र नाराणकाजी राख्दै आएका छन् । मेची महाकाली राष्ट्रिय जागरण अभियानको सिलसिलामा बाबुरामको ‘तर्कशील मन्तव्य र नारायणकाजीको समन्वयकारी भाषणले लाखौं सहभागीहरुको मन तानिरहेको’ अभियानमा सहभागी एक बुद्धिजीविको विश्लेण छ । बाबुराम भट्टराईले सिराहाको गोलबजारमा आयोजित जनसभामा भन्दैथिए ‘अब अध्यक्ष प्रचण्डको नेतृत्वमा समृद्ध नेपाल निर्माणको अभियान सुरु भइसक्यो ।’ देश निर्माणको लागि विश्वासिलो नेतृत्वको आवश्यकता झल्काउदै एमाओवादीले चुनावी प्रतिवद्धतामा यस्तो नारा तय गरेको छ, ‘जसको नीति उसको नेतृत्व, राष्ट्रका नेता अध्यक्ष क. प्रचण्ड ।’

एमाओवादीकै कारण मधेशी मुलका राष्ट्रपति सम्भव

एकीकृत नेकपा माओवादीले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि त्यसको काउन्टर गर्न बाध्य भएर नेपाली काँग्रेसले मधेशी मुलका डा. रामवरण यादवलाई राष्ट्रपतिको उम्मेदवार बनायो । परिणामस्वरुप अनपेक्षित र अकल्पनीय ढंगले उनै रामवरण राष्ट्रपतिको पदमा आसिन हुन पुगे । मेची महाकाली राष्ट्रिय जागरण अभियानको क्रममा सुनसरीको लौकहीमा आयोजित चुनावी सभामा एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले भने, ‘संभवत हामीले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार नबनाएको भए रामवरण यादव राष्ट्रपति हुन्थेनन् ।’ मधेशवादी दलहरु नउदाउदै प्रचण्डको प्रस्तावमा एकीकृत नेकपा माओवादीले पहिलोपटक मधेशी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेको थियो । मधेशीहरुलाई पहिचानको अधिकार दिलाएर मात्र राष्ट्रिय एकता बलियो हुने निश्कर्ष सहित उक्त मोर्चा गठन गरिएको प्रचण्डको तर्क छ । बुधवार सुनसरीको इटहरीमा आयोजित जनसभामा प्रचण्डले भने, ‘काँग्रेस, एमाले उत्पीडित मधेशी, आदिवासी जनजातिको पहिचानको अधिकार निमिट्यान्न पार्न चाहन्छन् भने एमाओवादी उनीहरुको पहिचानको अधिकार संस्थागत गरेमात्र सिङ्गो देश एकताबद्ध हुने अवधारणामा अडिग छ ।’ प्रचण्डको अपिल थियो ‘मधेशी अनुहार भएर मात्र हुँदैन, उत्पीडितहरुको अधिकारको पक्षमा वास्तवमा कसले सही विचार बोकेको छ, उसैलाई यसपालीको चुनावमा बहुमत दिनैपर्दछ ।’ प्रसिद्ध भारतीय नेता सुवासचन्द्र बोसले एकपटक भनेका थिए ‘तपाईहरु मलाई रगत दिनोस्, म तपाईलाई मुक्ति दिन्छु ।’ झण्डै उस्तै शैलीमा प्रचण्डले तराई मधेशका जनतामाझ भन्दैछन् ‘तपाई मलाई भोट दिनोस, म तपाईलाई मुक्ति र विकास दिनेछु ।’

मेची महाकालीमा बुद्धिजीवि र कलाकारहरुको अपिल

मेची महाकाली राष्ट्रिय जागरण अभियानमा प्रख्यात बुद्धिजीवि खगेन्द्र संग्रौला, पूर्व राजदुत विजयकान्तलाल कर्ण, लेखक युग पाठकलगायतका राष्ट्रिय व्यक्तित्वहरुको सहभागिताले माहौल थप तताएको छ । अभियानको क्रममा जारी चुनावी सभाहरुलाई सम्बोधन गर्ने क्रममा खगेन्द्र संग्रौलाले ‘आगामी चुनावमा एकीकृत नेकपा माओवादीलाई विजय गराउनु नै इतिहासको न्यायसंगत कदम’ हुने धारणा राख्दै आएका छन् । ‘प्रचण्ड, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठहरुले चुनाव हार्दैछन् भनेर हल्ला चलाईरहेका छन् तर मलाई लाग्छ जसले अहिले उनीहरुलाई मुखले हराईरहेका छन् भोलि चुनावमा तिनैले हार्नेछन्’ प्रचण्डको निर्वाचन क्षेत्र सिराहाको मिर्चैयामा आयोजित जनसभामा संग्रौलाले भने, ‘नेपाली काँग्रेस बृद्धाश्रम हो जसबाट रचनात्मक कामको अपेक्षा गर्न सकिन्न र एमाले जन्ती पार्टी हो जो भतेरको भागीभन्दा अरु कुनै भूमिकामा हुँदैन ।’ संग्रौलाको आह्वान छ, ‘संविधानमा आफ्नो भाग्य लेखाउन चाहनुहुन्छ भने आगामी चुनावमा एमाओवादीलाई मतदान गर्नोस् ।’

यसैगरी अभियानको क्रममा आयोजित बुटवलको जनसभालाई नायिका रेखा थापाले सम्बोधन गरिन् । करिब २० हजार सहभागी रहेको सभामा थापाले भनिन्, ‘देशको विकास गर्नसक्ने पार्टी एमाअ‍ोवादी हो, नयाँ संविधान लेख्न सक्ने पार्टी एमाओवादी हो, त्यसैले मंसिर ४ को चुनावमा गोलाकारभित्रको हसिँया हथौडा चिन्हमा छाप लगाउनुहोला ।’ मतदाता नामावलीमा नाम नभएका कारण उम्मेदवार बन्न नपाएकी रेखाले चुनावमा मतदान गर्नबाट समेत बञ्चित हुँदैछिन् ।

मेची महाकाली अभियानमा चर्चित जनकलाकार चेतन सापकोटा सांगितिक आकर्षणको केन्द्र बनेका छन् । ‘….उठ उठ उठ….प्रचण्डसँगै जुट….’ बोलको चुनावी गीत गुञ्जाउदै सापकोटा अभियानमा कुदेका छन् । हरेक सभाहरुमा उनी नेताहरुकोे टोलीभन्दा अघि अघि पुग्छन्, सहभागीहरुलाई जुरुक जुरुक पार्छन् । सापकोटा परिस्थति अनुकुलका गीत लेख्छन्, हतार हतार रेकर्ड गराउछन्, रातारात हिट बन्छन् । यो चुनावमा पनि उनले आधा दर्जन गीत आफ््नै आवाजमा रेकर्ड गराएका छन् जुन अहिले देशभर गुञ्जिरहेका छन् । त्यस्तै सामना परिवारका कलाकारहरुले पनि मेचीमहाकाली अभियानलाई रङ्गाईरहेका छन्, गीत संगीतको माध्यमबाट परिवर्तनको चेतना फैलाईरहेका छन् ।

पार्टी प्रवेशको लहर

मेची महाकाली अभियानको सिलसिलामा विभिन्न पार्टीका उम्मेदवारहरु एमाओवादीमा प्रवेश गरिरहेका छन् । शुक्रवार संघीय समाजवादी पार्टीबाट रौतहट क्षेत्र नं. ४ का प्रत्येक्ष उम्मेदवार देवलाल राम र चुरेभावर राष्ट्रिय पाटीका केन्द्रीय सदस्य चुनलाल श्रेष्ठ पार्टीका प्रत्येक्ष तर्फका उम्मेदवार एकीकृत माओवादीमा प्रवेश गरेका छन् । त्यस्तै काँगे्रस, एमाले, मधेशवादी दलका क्षेत्रीय र गाँउ स्तरका सयौं कार्यकर्ताहरु एमाओवादी प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरु प्राय आधारभूत वर्गका छन् । ‘पूरानो पार्टीबाट आफ्नो वर्गको मुक्ति र देशको विकास सम्भव नहुने’ भन्दै उनीहरुले प्रचण्ड–बाबुरामको हातबाट पार्टी प्रवेशको टीका लगाईरहेका छन् । अभियानको सिलसिलामा झापाबाट सुरु भएको यो क्रम कञ्चनपुरसम्म जारी रहने देखिएको छ ।

वैद्य अवरोध निस्प्रभावी

अभियान विथोल्न मोहन वैद्य नेतृत्वको माओवादीले ठाउँ ठाउँमा बन्दको घोषणा गरेपनि त्यसको कुनै प्रभाव देखिएन । स्थानीय जनताको उत्साहजनक सहभागिता रहने गरेको छ । अभियान टोलीको यातायात व्यवस्थापनमा पनि अहिलेसम्म कुनै अवरोध देखिएको छैन । सयौं कार्यकर्ताको मोटरसाईकल स्कर्टिङले मेचीमहाकाली यात्रा रमणीय समेत बनाइरहेको छ । वैद्यको बन्द आह्वानले अभियान टोलीलाई थप सजिलो भएको छ । बाटो खाली हुँदा समयमै पुगिने, बजार बन्द हुँदा मानिसहरुलाई जनसभामा सहभागी हुन सजिलो आदि । हेटौंडाको सभामा अभियान प्रमुख प्रचण्डले भने ‘वैद्यले मलाई साथ दिनु भएको छ । बन्दले जनतालाई सास्ती छ, त्यसको अपजस उहाँहरुलाई नै जान्छ तर मेची महाकाली अभियानलाई भने फाइदै फाइदा ।’

अभियानमा हालसम्म कहाँ कहाँ सभा भए ?

झापाको काँकडभिट्टा, बिर्तामोड र दमक, मोरंगको उर्लाबारी, पथरी, वेलबारी विराटचोक र विराटनगर, सुनसरीको इटहरी, दुहवी, इनरुवा र लौकही, सप्तरीको भारदह, कञ्चनपुर, राजविराज र कुसाहा, सिराहाको लहान, धनगढी, गोलबजार र मिर्चैया, धनुषाको गोदार, ढल्केबर, महेन्द्रनगर, जनकपूरधाम र फुलगामा, महोत्तरीको बर्दिवास, सर्लाहीको लालबन्दी, हरिवन र कर्मैया, रौतहटको चन्द्रनिगाहापुर, बाराको निजगढ र सिमरा, मकवानपुरको हेटौंडा, चितवनको पर्सा, रत्ननगर र भरतपुर, नवलपरासीको गैंडाकोट, कावासोती, चोरमारा, बर्दघाट र सुनवल, रुपन्देहीको खैरेनी र बुटवल ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us