दाजुभाई र दिदीबहिनीको प्रेमको प्रतीकको पर्व सामाचकेवा

काठमाण्डु टुडे २०७० कार्तिक १८ गते १३:४४ मा प्रकाशित

भद्रपुर, १९ कात्तिक–मैथिल समुदायका सांस्कृतिक पर्व सामाचकेवा मंगलबारदेखि विधिवत रुपमा सुरुभएको छ ।
पन्ध्र दिनको अवधिमा सम्पन्न हुने यो पर्वमा विभिन्न किसिमका माटोको मूर्ति बनाउने गरिन्छ । भाइटीकाकै दिन मूर्ति बनाउनका लागि खेतबारीबाट माटो ल्याउने कार्यको शुभारम्भ गर्ने गरिएकाले यो पर्व मंगलबारबाट विधिवत सुरु भएको हो ।
दिदीबहिनीले दाजुभाइको दीर्घायु एवम् मङ्गमलमयको कामनाका साथै एकापसमा सम्बन्ध प्रगाढ हुने धार्मिक एवम् सांस्कृतिक मान्यताको आधारमा मनाउने गरिएकाले यस पर्वलाई दाजुभाइ दिदीबहिनीको प्रेमको प्रतीकको रुपमा हेरिन्छ ।
खासगरी दाजुभाइसित सम्बन्धित यो पर्वमा माटोको कलात्मक मूर्तिहरु बनाउने गरिन्छ । उक्त माटोलाई तयार पारी छठ पर्वको खरनादेखि मूर्ति बनाउने कार्य सुरु गरी कात्तिक पूर्णिमाको मध्यरात्रिमा यो पर्व सम्पन्न हुने गरिन्छ ।
माटोबाट निर्माण गरिएका मानव, पशु र चराका मूर्तिहरु काँचो अवस्थामा रहन्छ भने त्यसलाई ‘सामा’ भन्ने गरिन्छ र आगोमा पकाउने मूर्तिलाई ‘चकेवा’ भनिन्छ।
यो पर्व मनाउन पहिलो दिन माटोको सिरी सामा बनाइन्छ । दोस्रो दिन चकेवा र त्यसपछि एकैपङ्क्तिमा बसेका सातवटा चराको मूर्ति बनाइन्छ ।
त्यसपछि क्रमिकरुपमा खररुचि भैया, बाटो बहिनो, दुईमुखे चरा, भाइबहिनी विमुख मूर्ति, परालको बृन्दावन जङ्गल र सनपाटको चुगिला अनिवार्यरुपमा बनाउने गरिन्छ । यसका साथै विभिन्न प्रकारका अन्य मूर्तिहरु कलात्मक ढङ्गले बनाउने गरिन्छ । ती मूर्तिहरुलाई विभिन्न आकर्षक रङले रङ्गाइन्छ ।
यो पर्वको माध्यमले माटोको कलात्मक मूर्तिहरु बनाउन जान्ने सीप भएकाहरुले अरुलाई यो सीप सिकाउने गर्दछन् । अचेल यो पर्व अब ग्रामीण क्षेत्रमै सीमित हुन थालेको छ।
द्वापर युगको समयदेखि नै यो पर्वको शुभारम्भ भएको विश्वास गरिन्छ । भगवान कृष्ण र उहाँकी पत्नी जाम्बवतीकी छोरीको नाम सामा थियो । भगवान कृष्णको श्रापका कारण सामा चरा भएपछि उनलाई पुनः मानव योनीमा फर्काउन सामाका भाइ साम्ब सफल भएपछि सम्झनास्वरुप यो पर्व मनाउने गरिएको भविष्य पुराणमा उल्लेख गरिएको छ ।
यो पर्वको सबैभन्दा रमाइलो पक्ष दिदीबहिनीहरुले आफ्ना मनका कुरा निर्धक्क भएर गीतको माध्यमले गाउने गर्छन् । आ–आफ्ना दाजुभाइको प्रशंसा गर्दै इच्छा लागेका वस्तु गीतको माध्यमले माग्ने गर्छन् । नातागोतामा पर्ने सम्पूर्ण दाजुभाइको गीतमा नाम उल्लेख गरी मध्यरात्रिसम्म गीत गाउने गरिन्छ।                                                                                                                                                                                                                                                                                                                                                                                भैयाके हाथ दस पोखरी बना दैह हो….. ।।’

अर्थात, गाउँको प्रमुख व्यक्ति मेरो दाजुभाइ होस् र उसले गाउँमा १० वटा पोखरी बनाइ देओस् । विकास निर्माणको काम गरोस् भन्ने कामना गरिन्छ ।
त्यसैगरी, ‘गे माइ कौने भइया जेता अटना पटना ।
कौने भइया जयता मुङ्गेर….. ।।’
अर्थात, कुन कुन दाजुहरु सहर जानुहुन्छ । त्यहाँबाट मैलें माग गरेका सामानहरु मगाइदिन आमालाई सम्बोधन गर्दै यो गीत गाइन्छ ।
गीतनाच सम्पन्न भएपछि आँगनमा चामलको पीठोको बनाइएका कलात्मक अरिपनमा उनीहरुले निर्माण गरेका माटोका मूर्तिहरु र सामाचकेवालाई चढाउनका लागि प्रसादको रुपमा नयाँ धानको च्युरा, धानको बाला, केरा, दही, चिनी र मिठाइ पान, सुपारी, अरुवा चामलसमेत बाँसको टोकरीमा राखेर पूजा गर्छन् । त्यसपछि दिदीबहिनीहरु गीत गाउँदै उक्त टोकरी बोकेर चौराहामा पुग्दछन् ।
यसरी, चौराहामा टोलभरकी महिलाहरु जुटेपछि सामा नाम गरेको मूर्तिलाई फोड्ने कार्य सबैभन्दा पहिले भाइबाट गराइन्छ । त्यसअवसरमा दिदीबहिनीले दाजुभाइलाई आशिष दिँदै गीत गाउँछन्– ‘जीवऽ जीव’ जीवऽकी मोर भैया जीव’ कि तोर भैया जीव
जैसन धोवियाके पाठ तैसन भैयाक पीठ
जैसन करडिक थम्ह तैसन भैयाक जाँघ…..’
अर्थात, मरी दाजुभाइहरु दीर्घायू होउन, धोबीले लुगा धुने धाटजस्तै पिठ्यू र करडिकको बोटजस्तै तिर्घा बलियो रहोस् भन्ने कामना गरिन्छ ।
त्यसपछि, सामाचकेवाको पुनः पूजापाठ गरी केही मूर्तिहरु उनीहरु एकापसमा साटासाटसमेत गर्छन् । त्यहाँ केही मूर्तिहरु त्यहीँ फोड्छ्न र लट्ठीमा बनाइएको चुगिलाको मूर्तिमा आगो लगाई गीतको माध्यमबाट श्राप दिँदै पर्व सम्पन्न हुन्छ ।
पुराणमा उल्लेख गरिएअनुसार कृष्णकी छोरी सामा बृन्दावनको जङ्गलमा घुमफिर गर्न गएको बेलामा डिहुली नामक नोकर्नीले कृष्णसमक्ष सामा वनका तपस्वी ऋषिहरुसित रमण गरिरहेको झुटो कुरा लगाइन् । कृष्ण आवेशमा आएर वास्तविक कुरा नबुझी छोरी सामालाई चरा हुने श्राप दिनुभयो । श्रापका कारण चरा बनेकी बहिनीलाई मुक्त गराउन दाजु साम्बले घोर तपस्या गरी पुनः मानव चोलामा फर्काएको विश्वासमा यो पर्व मनाइन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us