
पेरिस, ४ कात्तिक–अमेरिकी पूव सुरक्षा ठेक्केदार एडवर्ड स्नोडनले अमेरिकाले गुप्तचरी गरेको भनी चुहाएको नयाँ सूचनापछि फ्रान्स तथा मेक्सिकोले अमेरिकासँग यस विषयमा स्पष्टीकरण माग गरेका छन् ।
यससम्बन्धी समाचार फ्रान्सेली दैनिक पत्रिका ली मोन्ड तथा जर्मन साप्ताहिक पत्रिका डेर स्पिगलले प्रकाशन गरेका थिए र उनीहरूले अमेरिकी राष्ट्रिय सुरक्षा संस्था (एनएसए) ले गुप्त रूपमा फ्रान्समा करोडौँ फोन सम्पर्क अनुगमन गरेको तथा मेक्सिकोका पूर्व राष्ट्रपति फेलिपे काल्डेरोनको इमेल ह्याक गरेको उल्लेख गरेका छन् ।
स्नोडनले जुन महिनामा चुहाएको सूचनामा अमेरिकाले आफ्नो प्रिज्म नामक गुप्त कार्यक्रमबाट इन्टरनेट प्रयोगकर्ताको अनुगमन गर्ने गरेको भन्ने समाचार बाहिर आएको थियो र फ्रान्सेली सरकारी अनुसन्धानकर्ताहरु यस विषयमा अनुन्धान गरिरहेका छन् ।
फ्रान्सेली प्रधानमन्त्री जँ मार्क एरल्टले यी विषयमा जानकारी पाउँदा आफू स्तब्ध भएको बताए भने सोही कुरा गृहमन्त्री म्यानुएल भाल्सले पनि बताए । उनीहरु दुवैले अमेरिकी अधिकारीहरूले यस विषयमा स्पष्टीकरण दिनुपर्ने बताए ।
उनले कोपनहेगनमा पत्रकारहरूलाई अमेरिका जस्तो सहयोगी मुलुकले यस अवस्थामा कुनै पनि रणनीतिक र राष्ट्रिय प्रतिरक्षाका आधारमा औचित्य नभएको निजी सञ्चारमा गुप्तचरी गर्ने कार्य गरेको भनी विश्वास गर्नै नसकिने बताए ।
फ्रान्सेली विदेशमन्त्री लहँ फब्युसले लग्जम्बर्गको भ्रमणमा युरोपेली साझेदारसँगको वार्तामा अमेरिकी राजदूतलाई सोमबार आफ्नो मन्त्रालयमा बोलाइएको बताए । उनले साझेदारबीच यस प्रकारको अभ्यास पूर्णतया अस्वीकार्य भएको तथा यस्तो कुरा कुनै पनि अवस्थामा कार्यान्वयन गर्न नहुने बताए ।
अमेरिकी विदेशमन्त्री जोन केरी सोमबार अरब अधिकारीहरूसँग वार्ता गर्न पेरिस पुग्दै छन । फ्रान्सेली विदेशमन्त्री फब्युसले मङ्गलबार हुने वार्तामा यो विषय उठाउने जानकारी मन्त्रालयका एक प्रवक्ताले दिए ।
एनएसएले डिसेम्बर १० देखि जनवरी ८ सम्मको ३० दिनको अवधिमा सात करोड तीन लाख फोन सम्पर्क अनुगमान गरेको ली मोन्डले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ । उसले यसका लागि स्नोडनले उपलब्ध गराएको दस्तावेजलाई उद्धरण गरेको छ ।
ल मोन्डले यी दस्तावेजका आधारमा एनएसएले आतङ्कवादमा संलग्न भएको भनी आशङ्का गरिएका व्यक्तिहरूलाई मात्र लक्ष्य बनाएको नभई व्यवसाय तथा राजनीतिमा उच्चस्तरीय व्यक्तित्वहरूलाई लक्ष्य बनाएको उल्लेख गरेको छ ।
अमेरिकी अधिकारीहरूले यी गोप्य कागजातका विषयमा फ्रान्सेली दैनिकलाई टिप्पणी गर्न अस्वीकार गरे । डेर स्पिगलले सोही कागजातका अधारमा अमेरिकी गुप्तचरहरूले मेक्सिकोका राष्ट्रपतिको सञ्जालमा ह्याक गरी कालडेरोनको ठेगानमा पहुँच प्राप्त गरेको उल्लेख गरेको छ ।
उक्त समाचार अनुसार एनएसएले यी दस्तावेजमा कूटनीतिक, आर्थिक तथा नेतृत्वसम्बन्धी सञ्चार भएको र त्यसले मेक्सिकोको राजनीतिक प्रणाली तथा आन्तरिक स्थिरताका विषमा जानकारी दिएको उल्लेख गरेको छ ।
मेक्सिकोका अधिकारीहरूले यस विषयमा अमेरिकी अधिकारीहरूसँग सकेसम्म छिटो स्पष्टीकरण मागिने बताएका छन् ।
विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी संस्थागत सञ्चार र मेक्सिकोका जनताको गोपनीयता उल्लङ्घन गरेकोमा मेक्सिकोको सरकारले स्पष्ट रूपमा भत्र्सना गर्ने उल्लेख गरेको छ ।
विज्ञप्तिमा यो अभ्यास अस्वीकाय र अवैधानिक भएको र मेक्सिको तथा अन्तर्राष्ट्रिय कानुनको विपरीत भएको उल्लेख गरिएको छ ।
मेक्सिकोका वर्तमान राष्ट्रपति एनरिक पेना निएतोले आफ्ना इमेलमा अमेरिकी गुप्तचरले पहुँच प्राप्त गरेको विषयमा अमेरिकी समकक्षी बाराक ओबामासँग गुनासो गरिसकेका छन ।
डेर स्पिगलले गत महिना सन् २०१० मा एनएसएले फ्रान्सेली कूटनीतिज्ञ तथा विदेश मन्त्रालयको आन्तरिक कम्प्युटर नेटवर्क अनुगमन गरेको समाचार दिएको थियो ।
त्यसो त फ्रान्स आफैँमाथि पनि गुप्तचरी गरेको आरोप लागेको छ । ल मोन्डले गृष्ममा गुप्तचर संस्थाहरूले मुलुकको सबै सञ्चारमा अनुगमन गरेको उल्लेख गरेको थियो । यस समाचारलाई भने फ्रान्सेली सरकारले अस्वीकार गरेको छ ।
स्नोडनले हाल रसियामा शरण लिएका छन् भने उनलाई अमेरिकाले आफ्नो सैनिकमाथि गुप्तचरी गरेको आरोप लगाएको छ । रासस/एएफपी