सर्वोच्चबाट लोकमानविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाण्डु टुडे २०७० कार्तिक ३ गते ११:२७ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– सर्वोच्च अदालतले प्रहरी जवानलाई गोडा धुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीविरुद्ध परेको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।
Lok_Man-Singh-Karkiबाबुराम आचार्य र पर्वतराज घिमिरेले प्रहरीलाई गोडा धुवाउन लगाएर कार्कीले अमानवीय व्यवहार गरेकाले उनीमाथि हदैसम्मको कारबाहीको माग गर्दै आइतबार रिट निवेदन दिएका थिए ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता बाबुराम दाहालले रिट निवेदकले उठाएका प्रश्न कानुनी र संवैधानिकभन्दा व्यवहारिक भएकाले निवेदन दरपीठ गरिएको बताए । ‘रिट निवदेकले कानुनी र संवैधानिकभन्दा पनि व्यवहारजन्य विषय उठाएको पाइयो’, काठमाण्डु टुडेसँग दाहालले भने, ‘व्यवहारजन्य प्रथा, परम्परा र सामाजिक मान्यताबारे अदालतमा निवेदन दर्ता गर्न मिल्दैन ।’

उनले रिट निवेदकको दाबीअनुसार जवर्जस्ती नभई स्वैच्छिक रुपमा गोडामा जगबाट पानी हालेको पाइएकाले त्यसलाई अमानवीयकार्य र मौलिकहक हनन भन्न नमिल्ने दाहालको भनाइ छ ।

रिट निवेदकले पदीय हैसियत दुरुपयोग गरी खुट्टा धुवाउन लगाएकाले कार्कीलाई तत्काल काम नगर्न/नगराउन अन्तरिम आदेशको माग गरेका थिए ।

बडा दसैंको अष्टमीका दिन गोरखाकाको गोरखकाली मन्दिरमा सपरिवार पूजा गरेर बाहिर निस्कँदा कार्कीको खुट्टामा लागेको रगत पखाल्न प्रहरी जवानले जगबाट पानी हालिरहेको तस्वीर सार्वजनिक भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us