राष्ट्रसंघबाट अमेरिकी ड्रोन हमलामा मारिनेको संख्या माग

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १३:१७ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– संयुक्त राष्ट्रसंघले अमेरिकी सरकारसंग ड्रोन हमलाबाट मारिनेहरुको संख्या पारदर्शी बनाउन माग गरेको छ ।
US Flagअमेरिकी ड्रोन हमलाबाट पाकिस्तानमा मात्रै चार सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको तथ्य पाकिस्तानी सरकारले सार्वजनिक गरेपछि राष्ट्रसंघले ड्रोन हमलाका मृतकहरुको संख्या पारदर्शी बनाउन माग गरेको हो ।
राष्ट्रसंघीय अध्ययनले पाकिस्तान, अफगानिस्तान र यमनमा अमेरिकाले गर्दै आएको ड्रोन हमलाले अनाहकमा निर्दोष सर्वसाधारणले ज्यान गुमाउने गरेको देखाएको छ । शुक्रबार राष्ट्रसंघले अमेरिकी ड्रोन हमलाबारे प्रतिवेदनमार्फत सार्वजनिक गरेको थियो ।

प्रतिवेदनमा अमेरिका आफैंले पनि ड्रोन हमलाबारे अनुसन्धान गर्न जरुरी रहेको सुझाइएको छ । राष्ट्रसंघले द्वन्द्वताका निर्दोष सर्वसाधारणको सुरक्षा अमेरिकाको जिम्मेवारी रहेको बताउादै प्रतिवेदनमा अमेरिकी सरकारलाई ड्रोन हमलामा मारिनेको तथ्यांक सार्वजनिक गर्न माग गरेको छ । अमेरिकाले हालसम्म ड्रोन हमलामा मारिनेहरुको तथ्याङ्क सार्वजनिक गरेको छैन ।
अमेरिकाले ड्रोन हमलामा मारिनेहरु अधिकांश विद्रोही नै भएको र यस्ता हमलामा सर्वसाधारणको मृत्यु नभएको दाबी गर्दै आएको छ । पाकिस्तानमा सन् २००४ यता मात्र ड्रोन हमलामा २२ सय मानिसको ज्यान गएको डरलाग्दो तथ्य सार्वजनिक भएपछि अमेरिकी ड्रोन हमलालाई आगामी दिनहरुमा मान्यता दिने वा नदिने विवाद उठ्ने देखिएको छ । अमेरिकी ड्रोन हमलाले अन्तर्राष्ट्रिय मानवीय कानुन उलङ्घन गरेको विश्लेषकहरुको दाबी छ ।

शुक्रबार सार्वजनिक भएको राष्ट्रसंघको प्रतिवेदनलाई आगामी शुक्रबार संयुक्त राष्ट्रसंघको महासभाका साथै आगामी वर्ष मानव अधिकार परिषदमा पनि प्रस्तुत गरिने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us