फिलिपिन्समा सडक दुर्घटनामा १९ जनाको मृत्यु

काठमाण्डु टुडे २०७० कार्तिक २ गते १०:०७ मा प्रकाशित

मनिला, २ कात्तिक–फिलिपिन्सको एटिमोनानमा एक राजमार्गमा भएको सवारी दुर्घटनामा १९ व्यक्तिको मृत्यु भएको छ । सो घटनामा परी दर्जनौ घाइते भएको जानकारी प्रहरीले दिएको छ । यस दुर्घटनामा तीन बस तथा चार ट्रक परेको बताइएको छ ।
एबीएस–सीबीएन टेलिभिजनले प्रसारण गरेको चित्रमा कम्तीमा १० व्यक्तिको मृत्यु भएको देखाइएको छ । उनीहरूको शव सडकको किनारामा राखिएको र केराको पातले छोपिएको उक्त चित्रमा देखाइएको छ ।
दुर्घटनामा परेको एक बस तथा एक ट्रक पल्टिएको अवस्थामा देखिएको छ । एटिमोनानका प्रहरी कमान्डर प्रमुख सुपरिटेन्डेन्ट जोमार युपिओले आफूहरूले १८ व्यक्तिको शव प्राप्त गरेको र एक व्यक्तिको शव ट्रकले किचेको अवस्थामा रहेको बताए ।
एटिमोनान प्रहरीले एक विज्ञप्ति प्रकाशन गरी मनिलातर्फ जाँदै गरेको बसका चालकले बिहान सबेरै नियन्त्रण गुमाउन पुग्दा उक्त दुघटना भएको जानकारी दिएको छ ।
विज्ञप्तिमा १९ व्यक्तिको मृत्यु भएको तथा ३४ अन्य घाइते भएको जानकारी दिइएको र उनीहरू प्रायः बसका यात्रु भएको बताइएको छ । उक्त बसको चालकलाई चोटपटक लागेको देखिएको छ भने हाल हिरासतमा रहेको जानकारी प्रहरीले दिएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us