एनआरएन चुनौतीका पर्खाल

काठमाण्डु टुडे २०७० कार्तिक १ गते ९:१६ मा प्रकाशित

tenzi Sherpaदश बर्ष भएछ, हामी गैरआवासीय नेपालीहरुले एनआरएनको स्थापना गरेको । विश्वमा छरिएर रहेका लाखौं नेपालीहरुको साझा संस्था एनआरएनए (अन्तर्राष्ट्रिय समन्वय परिषद्) को दशौं बार्षिकोत्सव तथा छैटौं विश्व सम्मेलन कात्तिक २ गतेदेखि हामी काठमाडौंमा सम्पन्न गर्दैछौं । थुप्रै आशा, अपेक्षा, योजना बोकेर गैरआवासीय दाजुभाइ, दिदीबहिनी अहिले मातृभूमिमा आइपुग्नुभएको छ । विगतका अनुभवको समीक्षा गर्दै यो विश्व सम्मेलनले एनआरएनलाई अझ, सवल, सुदृढ र परिस्कृत गर्नेछ ।
विगत निकै कठिन थिए । विदेशमा नेपालीका साझा संस्था थिएन । आºनै देशका दाजुभाइ पराइझैं थियौ, विदेशी माटोमा । सानो गाह्रोसाह्रो पर्दा पनि सहयोग लिन—दिन अति नै अप्ठेरो थियो, साँच्चै भन्ने हो भने डायस्पोरामा हामी छिन्नभिन्न थियौं । दक्षिण कोरियामा बस्ने म जस्ता प्रवासी र अमेरिका या युरोपको कुनै राष्ट्र वा खाडीमा बस्ने नेपालीबीच सम्पर्क/सम्बन्ध थिएन । तर, आज गर्वसाथ भन्नुपर्छ हामी छिनभरमै संसारका दर्जनौं राष्ट्रमा गैरआवासीय नेपाली संघको माध्यमबाट जोडिन सक्छौं । दशबर्षअघि हामीले सुरु गरेको यो अभियान आज विश्वका ६५ वटा राष्ट्रमा फैलिनु आफैमा सुखद र उपलब्धिमुलक छ । गैरआवासीय नेपालीहरुले गरेको यो सञ्जाल निर्माणलाई राज्यले पनि गर्वका साथ स्वीकार्नुपर्छ, किनकी यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा राष्ट्रलाई नै हुन्छ । कम्तीमा ६५ वटा राष्ट्रमा आºना नागरिकको अवस्थाबारे राज्य तत्कालै जानकार हुनसक्छ, आफ्ना नागरिकसँग तत्कालै सम्पर्क कायम हुनसक्छ ।
वितेको यो दशक सम्पर्क स्थापना गर्ने, संस्थालाई दरिलो बनाउने र यसको सञ्जाल यत्रतत्र पुराउने अभियानमै केन्द्रीत रह्यो । संस्थालाई दरिलो र आशालाग्दो बनाउँदै अब यसलाई समयसापेक्ष रुपमा सक्षम बनाउनुपर्ने अभिभारा यतिबेला हाम्रो काँधमा आइपुगेको छ, काठमाडौंमा हुने हाम्रो विश्व सम्मेलनले यसमा अवश्यनै ठोस मार्गनिर्देश गर्नेछ ।
एनआरएन गैरआवासीय नेपालीहरुको देशप्रतिको माया र लगावको प्रतिबिम्ब हो । हामी कुनै ग्रहबाट आएका मानिस होइनौं, यही समाज र परिवेशबाट उठेका हौं । समय, परिस्थिति र आवश्यकताले मात्र हामी परदेशी भूमिमा पुग्नुपरेको यथार्थता हो । यद्यपि संसारका जुनसुकै कुनामा पुगेपनि हाम्रो संस्कार, संस्कृति र माृतभूमिको प्रतिको स्नेह सँगसँगै रहँदोरहेछ । एनआरएनको सुरुवात राष्ट्र र विदेशमा रहेका हामी राष्ट्रप्रेमीलाई जोड्ने पवित्र उद्देश्यले नै भएको हो । समयसँगै अगाडि बढ्दै जाँदा संस्थामा थुप्रै विद्वान, दिग्गज, आफ्ना क्षेत्रमा सफल मित्रहरु जोडिनुभयो, जसका कारण आज एनआरएन यो अवस्थामा उभिन सफल भयो । तर, दुःखका साथ भन्नुपर्छ एनआरएनका विषयमा पछिल्ला दिनमा भइरहेका टिप्पणी उदेक लाग्दा छन् । हामीले हाम्रो सुन्दर मातृभूमिको विकासमा ईंटा थप्नमात्र खोजेका हौं, विदेशमा आर्जन गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई यो देशको हितमा लगाउन खोजेका हौं, एउटा नेपालीले देशको भलो सोच्दा, छलफल गर्दा फरक रुपमा हेरिनुहुन्न । हामीले कुनै चमत्कारका कुरा पनि गरेका होइनौं । अनावश्यक आशा देखाउने पक्षमा पनि छैनौं । विश्वका जुनसुकै कुनामा पुगेपनि हामी फर्केर आउने यहीं हो, यो देशको विकासका लागि केही गर्न सकियो भने सच्चा नागरिक भएको ठहरिनेछ, त्यो पवित्र भावनाले नै हामीले यो देशको समग्र क्षेत्रको विकासमा टेवा पु¥याउने गरी पहलकदमी मात्र लिन खोजेका हौं, त्यसका लागि संस्थागत र व्यक्तिगत रुपमा पनि हामीले सक्दो मेहनत गरिरहेका छौं ।
अझ विदेशमा त एनआरएन सरकारको आधिकारिक प्रतिनिधिजस्तो बनेको छ । दुतावास भएका राष्ट्रमा एनआरएनले सरकारसँगको साझेदारीमा गैरआवासीय नेपालीहरुलाई सहयोग गरिरहेको छ । जुन देशमा दुतावास छैन, त्यहाँ एनआरएनमात्रै यस्तो संस्था हो, जसले नेपालीहरुलाई दुःख सुखमा साथ दिन्छ । खाडी राष्ट्रमा बेखर्ची भएका, रोजगारीबाट निकालिएका, अंगभंग भएका श्रमिकका लागि एनआरएन वरदान बनेको छ । खाडीका महिला दिदीबहिनीको उद्दार गर्नदेखि महिनौंसम्म अलपत्र परेको शव नेपाल ल्याउनसम्म एनआरएनले खेलेको भूमिकालाई बिर्सन हुंदैन । एउटा नेपालीलाई सानो दुःख पर्दा अहिले संसारभरका नेपाली सहयोग गर्न तम्सिहाल्छन्, नेपाली मनलाई एकसुत्रमा बाँध्न एनआरएनले गरेको प्रयास नै उपलब्धि हो । अकालमै मृत्युको मुखमा पुगेकी डोल्मा शेर्पा बचाऊ अभियानदेखि बेकसुर जापानको जेलमा परेका गोबिन्द मैनालीलाई समेत बचाउन हामीले गरेका प्रयास गर्वलायक छ । त्यसैले नेपाल सरकारको आधिकारिक प्रतिनिधि नरहेका विदेशका ठूला शहरहरुमा गैरआवासीय नेपालीहरुलाई मानार्थ दुतका रुपमा सिफारिस गरी बैदेशिक रोजगारमा रहेका नेपालीहरुका समस्यालाई सहज समाधान गर्नु राज्यका लागि समेत हितकर हुनेछ ।
डायस्पोरामा नेपाली भाषा, कला साहित्य र संस्कृतिको प्रबद्र्धन, भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी र सर्वोच्च शिखर सगरमाथाको प्रवद्र्धन गर्न थुप्रै मेहनत परेको छ । जसले देशमा पर्यटन प्रबद्र्धनमा समेत मद्दत पुगेको छ । अहिले देशका गाउँटोलमा ससाना सामाजिक कार्यहरु जस्तैः विद्यालय भवन, पुलपुलेसा, बाटो, पुस्तकालय, अस्पताल निर्माण जस्ता कार्यका लागि एनआरएनले सक्दो सहयोग गरिरहेको छ । एक देश एक च्यारिटी कार्यक्रमअन्र्तगत हरेक राष्ट्रिय समन्वय परिषद्ले देशका ग्रामीण भेगमा परोपकारी कार्यलाई निरन्तरता दिंदै आएका छन् । एकीकृत रुपमा बृहत लगानी गर्नका लागि सामूहिक लगानी कोष स्थापना गरेर काम अगाडि बढिसकेको छ । आगामी दिनमा त्यो अझै व्यापक रुपमा अगाडि बढनेछ । बरु त्यसका लागि विदेशी पुँजी आवश्यक पर्न सक्छ । हामी विदेशी पुँजी भित्राउन समेत पहल गर्छौं । गैरआवासीय नेपालीहरु एकढिक्का भएर लगानी गर्ने हो भने ठूला ठूला लगानी पनि सम्भव छन् । त्यसका लागि नेतृत्वकर्तामा दूरदर्शिता, स्पष्ट नीति र योजना चाहिन्छ । देशमा उर्जा, पूर्वाधार विकास, कृषि लगायत धेरै क्षेत्रमा लगानीयोग्य परियोजनाहरु प्रशस्त भएतापनि गैरआवासीय नेपाली लगानीकर्ताहरुलाई ती क्षेत्रमा आकर्षित गर्न सकिएको छैन, नेपालमै लगानीमैत्री वातावरण दिलाउन नेपाल सरकारसँग महत्वपूर्ण पहलको जरुरी छ ।
तर, हाम्रा माझमा केही यस्ता चुनौतीका पर्खाल छन् । कतिपय आन्तरिक र सरकारी कानुनका कारण नेपालमा एनआरएन दर्ता नहुँदा अनेक टिकाटिप्पणी उठेका छन् । संस्था दर्ता प्रक्रिया अन्तिम अबस्थामा पुगिसकेको छ, जसलाई बेलैमा फत्ते गर्नुपर्नेछ । बेलैमा संविधान लेखिएको भए संस्था दर्तादेखि नागरिकताका सवाल, मतदानका विषय सायद हामीले दोहो¥याइरहनु पर्थेन । रेमिट्यान्सका मुख्य स्रोतका रुपमा लिइएका खाडीका श्रमिक दाजुभाइ दिदीबहिनीको समस्या भिन्न छ । खाडी बाहेकका राष्ट्रमा पनि श्रम, व्यापार, अध्ययन या अन्य कामले पुगेका नेपालीका समस्यामा विविधता छ । देशैपिच्छे नेपालीहरुका भोगाइहरु फरकफरक छन् । यी विविधतालाई समेत ख्यालमा राख्दै एनआरएनले आफ्नो संरचनामा समेत विविधता ल्याउन जरुरी छ । एनआरएनको पहुँचबाहिर रहेका नेपालीहरुलाई यो सञ्जालमा समेटिनु अर्को चुनौती हो । ४ लाख नेपाली रहेको कतारमा मुस्किलले २ हजारमात्र सदस्य छन् । २ लाख नेपाली रहेको अमेरिकामा केही हजारमात्र सदस्य छन् । एनआरएनको पहुँच तल्लोतहसम्म पु¥याएर विदेशमा रहेका सबै नेपालीहरुले अपनत्व ग्रहण गर्ने वातावरण बनेमात्र साँचो अर्थमा एनआरएन अभियानको सार्थकता ठहरिनेछ ।
एनआरएन जाति, धर्म र वर्ग भन्दा सँधै माथि उठन चाहन्छ । लोकतान्त्रिक रुपमा कतिपय देशमा भएका नेतृत्व चयनलाई जोडेर एनआरएन फुट्छ या फुटन लाग्यो भन्नु मिथ्या मात्र हो । एनआरएन कहिल्यै फुट्दैन, थुप्रै हण्डरठक्कर खाएर एनआरएन यो अवस्थासम्म आइपुगेको हो । विगत १० बर्ष एनआरएन सञ्जालको दशक थियो, अब सञ्जाल निर्माणसँगसँगै हामीले गैरआवासीय नेपालीमार्फत राष्ट्रलाई केही योगदान पु¥याउने दिशामा अघि बढ्नुपर्छ । त्यो भनेको देशको विकासमा गैरआवासीय नेपालीहरुको सहभागिता हो ।
शेर्पा एनआरएनका महासचिव हुन

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us