कारबाहीमा एक्काइस तालिवानको मृत्यु

काठमाण्डु टुडे २०७० असोज २२ गते १२:४५ मा प्रकाशित

काबुल, २२ असोज – अफगानिस्तानमा अफगान प्रहरी, सेना र नेटोसँग आवद्ध सैनिकले गत २४ घन्टायता जारी राखेको कारबाहीका क्रममा २१ जना तालिवानको मृत्यु भएको छ ।
उक्त जानकारी अफगानिस्तानको गृह मन्त्रालयले मङ्गलबार प्रकाशित विज्ञप्तिमा जनाएको छ । त्यहाँ सशस्त्र विद्रोह गरिरहेका तालिवानका विरुद्धमा संयुक्त सेनाले बुधबार बिहानसम्म जारी राखेको कारबाहीको क्रममा कम्तीमा २१ तालिवान आतङ्ककारी मारिएको समाचारमा जनाइएको छ ।
संयुक्त सेनाले जारी राखेका यो कारबाही अफगानिस्तानको कुनार, कान्दाहार बाद्ख्सान,कुन्दुज,जावजान,उरुज्गान वार्दाक र हेलमान्ड  प्रान्तमा भएको विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त सेनाको कारबाहीको क्रममा १० जना तालिवान आतङ्ककारी पक्राउ परेको बताइएको छ । यसैगरी सो कारबाहीमा पाँच तालिवान  घाइते भएका पनि जनाइएको छ ।
कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहती नभएको र संयुक्त सेनाले विभिन्न हातहतियार कब्जा गरेको पनि उल्लेख गरिएको छ । अफगानिस्तानमा अफगान र नेटोसँग आवद्ध सेनाले तालिवानी लडाकूविरुद्ध विभिन्न स्थानमा कारबाही जारी राखेका छन् ।

अफगान गृह मन्त्रालयकाअनुसार गत महिनादेखि हालसम्म संयुक्त सेनाले जारी राखेको कारबाहीमा छ सय भन्दाबदी  तालिवानको मृत्यु हुनुको साथै करिब २७० पक्राउ  परेका  छन् ।
उता तालिवानले पनि बम विस्फोट लगायतमा प्राय दैनिकजसो नै नागरिकको हत्या गर्ने गरेका छन् । आगामी वर्षको अन्त्यसम्ममा त्यहाँबाट नेटो सैनिक फिर्ता भइसक्ने बताइएको छ ।

त्यसपछिको अफगानिस्तानको शान्ति अवस्थाका बारेमा विश्वमा नै चिन्ता छाएको बताइएको भए पनि दिनहुँजसो हत्या हिंसाको शृङ्खला भने जरी नै छ । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us