सोमालिया र लिबियामा अमेरिकी आक्रमण

काठमाण्डु टुडे २०७० असोज २० गते १४:५८ मा प्रकाशित

वासिङटन, २० असोज–अमेरिकी सेनाले शनिबार अफ्रिकाका दुई लडाकू समूहमाथि लक्ष्य गरी आक्रमण गरेको छ । एक आक्रमणमा त्रिपोलीको सडकबाट लिबियाका अल–कायदा भनी आशङ्का गरिएका लडाकू नेतालाई पक्राउ गरिएको छ भने सोमालियामा सेबाबका नेताको घरमा शनिबार बिहान हुनुपहिले नै आक्रमण भएको छ ।
लिबियामा अमेरिकी सेनाले अबु अनस अल–लिबी नाम गरेको लडाकू नेतालाई पक्राउ गरेको छ । अमेरिकाले अल कायदाका यी नेतालाई निकै अगाडिदेखि खोजिरहेको थियो र उसले सन् १९९८ मा केन्या तथा तान्जानियाका दूतावासमा आक्रमण गरेको देखिएको छ ।
सोमालियाको दक्षिण बन्दरगाह बारावेमा भएको अर्को छुट्टै आक्रमणमा वरिष्ठ लडाकू नेतालाई पक्राउ गर्न गरिएको प्रयास असफल भएको छ र उनी मारिएको भन्ने कुरा अझै अस्पष्ट रहेको छ । अमेरिकी अधिकारीहरूले यस आक्रमणमा अल–कायदासँग सम्बन्धित सेबाबका अनेकौँ सदस्यको मृत्युभएको जानकारी दिएका छन् ।
यो आक्रमण गत महिना नाइरोबीको व्यापार केन्द्रमा भएको घातक लडाकू आक्रमणका कारण भएको बताइएको छ । लिबियामा भएको कारवाही भने सफल भएको देखिएको छ । पेन्टागनका प्रवक्ता जर्ज लिटिलले एक विज्ञप्ति प्रकाशन गरी आतङ्कवादविरुद्ध अमेरिकी कारवाहीका कारण अबु अनस अल–लिबीलाई हाल लिबियाको बाहिरी भागमा सुरक्षित स्थानमा अमेरिकी सैनिकले राखेको बताएका छन् ।
लिबीका नजिकका एक स्रोतले निजलाई त्रिपोलीमा सशस्त्र व्यक्तिहरूले अपहरण गरेको बताए ।     लिबी एफबीआईको सबैभन्दा खोजिएको अपराधीमध्येका थिए र निजमाथि ५० लाख अमेरिकी डलरको पुरस्कार राखिएको छ । न्यु योर्कस्थित अमेरिकी सङ्घीय अदालतमा लिबीमाथि पूर्वी अफ्रिकामा भएका बम अक्रमणमा प्रमुख भूमिका खेलेको आरोपमा मुद्दा चलिरहेको छ ।
उक्त आक्रमणमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ ।
निजको फक्राउपछि यी अल–कायदाका प्रमुख नेताको गत १५ वर्षदेखिको खोजी अन्त्य भएको छ । उनको जन्मको नाम नाजिह अब्दुल हामेद अल–राघी रहेको थियो ।
यसले ४९ वर्षीय लिबीलाई अमेरिका ल्याई अदालतमा मुद्दा चलाउने बाटो खोलिदिएको छ । यसले अमेरिकाले आतङ्कवादी काम गर्ने व्यक्तिलाई जिम्मेवार बनाउने कुरा कहिल्यै नछोड्ने भनी स्पष्ट हुने आफूले आशा गरेको धारणा इन्डोनेसियाको बालीमा बोल्दै अमेरिकी विदेशमन्त्री जोन केरीले व्यक्त गरेका छन ।
यसले अल–कायदा तथा अन्य आतङ्कवादी संस्थालाई उनीहरू भाग्न सक्ने तर सँधै लुकेर रहननसक्ने स्पष्ट सङ्केत दिने पनि उनले बताए । उनी एसिया–प्रशान्त आर्थिक सहयोग मञ्चमा भाग लिँदैछन ।
अमेरिकी एक अधिकारीले लिबियामा भएको आक्रमण लिबिया सरकारको जानकारीमा दिउँसै भएको सीएनएनलाई बताए । लिबियाको सुरक्षा सेवाले भने आफूहरूलाई यस प्रकारको अपहरणको जानकारी नभएको बताए ।
लिबीमाथि लगाइएको आरोपमा निज र अल–कायदाका सदस्यहरूले सन् १९९३ मा अमेरिकी दूताबासमा आक्रमण गर्ने विषयमा छलफल गरेको र दूतावासको फोटो खिचेको उल्लेख गरिएको छ ।
सन् १९९४ मा लिबीले अन्तर्राष्ट्रिय सहयोगका लागि अमेरिकी संस्थाको भवनका साथै बेलायती, फ्रन्सेली तथा इजरायली लक्ष्यमा आक्रमण गर्ने योजना तयार गरेको आरोप लगाइएको छ ।
सोमालियामा अमेरिकी अधिकारीहरूले सेबाबका उच्च नेतालाई पक्राउ गर्न प्रयास गरेको र यस आक्रमणमा अमेरिकी कुनै पनि कर्मचारी नमारिएको र घाइते नभएको एक अमेरिकी एक अधिकारीले बताए ।
चार वर्ष अगाडि अमेरिकी कमान्डोले अल–कायदाका नेता सलेह अली सलेह नाभानलाई मारेका थिए र यो आक्रमण उक्त आक्रमणपछिको सबैभन्दा महत्वपूर्ण भएको बताइएको छ ।
गत महिना सेबाबले नाइरोबीको वेस्टगेट व्यापारिक केन्द्रमा गरेको आक्रमणमा ६७ व्यक्तिको मृत्यु भएको थियो । उक्त आक्रमण चारदिनसम्म चलेको थियो ।
बारावेमा सेबाबका नेताले अमेरिकी कमान्डो एक वरिष्ठ कमान्डरको घरमा हेलिकप्टरबाट झर्न प्रयास गरेको तर उनीहरू असफल भएको बताए ।
यस आक्रमणमा सेबाबका नेताको मृत्युभएको विश्वास गरे पनि अमेरिकी सिल समूहल यस कुरालाई पुष्टि गर्नुपूर्व त्यहाँबाट फर्कन परेको बताइएको छ ।
सोमालियाको सरकारका एक वरिष्ठ अधिकारीले यो आक्रमण अमेरिकी सेनाले गरेको र यसको विषयमा सरकारलाई पूर्व जानकारी भएको बताए । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us