इराकमा भएको आक्रमणमा अठत्तरको मृत्यु

काठमाण्डु टुडे २०७० असोज २० गते ९:३७ मा प्रकाशित

बग्दाद, २० असोज– इराकमा शनिबार भएको शृङ्खलावद्ध आक्रमणमा कम्तीमा ७८ व्यक्तिको मृत्यु भएको छ ।
इराकको राजधानी बग्दादमा सिया तीर्थयात्रीलाई लक्ष्य गरी गरिएको आत्मघाती बम आक्रमणलगायतको यस आक्रमणहरूको १६६ जना घाइते भएका  प्रहरी र स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उत्तरी बग्दादको आधामिया क्षेत्रमा  सिया तीर्थयात्रीलाई लक्ष्य गरी  गरिएको बम आक्रमणमा कम्तीमा ५१ व्यक्तिको मृत्यु हुनुको साथै १०६ घाइते भएका छन् ।
उत्तरी बग्दादको काधिमियाको छिमेकमा पर्ने अल काधिमिया मस्जिदनजिकै  तीर्थयात्राको बाटोमा सो आक्रमण भएको जनाइएको छ ।
त्यसैगरी बग्दाददेखि ८० किलोमिटर उत्तरमा पर्ने बालाद सहरमाअवस्थित प्रख्यात क्याफेनजिकै शनिबार साँझमा भएको बम विस्फोटमा कम्तीमा ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३५ जना घाइते भएका प्रहरीस्रोतले सिन्ह्वा स्रोतलाई बताएको  छ ।
त्यसैगरी दक्षिणपश्चिम बग्दादको बाया क्षेत्रमा अवस्थित अर्का एक क्याफेनजिकै भएको सडककिनारको बम विस्फोटबाट एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएको जनाइएको छ ।
त्यसैबीच उत्तरी इराकको सहर मोसुलमा अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा एक प्रहरीको मृत्यु हुनुको साथै अन्य दुई व्यक्ति घाइते भएका छन् ।
इराकमा सेप्टेम्बर महिनामा मात्र भएका शङ्खलावद्ध आक्रमणमा ८७० भन्दा बढी व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले प्रकाशन गरेको एक तथ्याङ्कमा जनाइएको छ ।
त्यसैगरी यस वर्षको सुरुदेखि हालसम्म इराकमा भएका बमलगायतका विभिन्न आक्रमणमा छ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us