कस्का पुस्तकमा कसको मोह कति ?

काठमाण्डु टुडे २०७० असोज १५ गते ८:१३ मा प्रकाशित

काठमाडौँ–‘‘असाध्यै जीवन उपयोगी, सकरात्मक सोच वृद्धि गर्ने खालका पुस्तक किन्न पाइयो’’, बीबीएस द्वितीय वर्षमा अध्ययनरत २१ वर्षीय प्रदीप सुवेदीले भने, ‘प्रदर्शनीमा राखिएका जुन पुस्तक हेरे पनि उपयोगी छन् ।’
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘मुनामदन’, गुरुप्रसाद मैनालीको ‘नासो’, स्वेट मार्टनको ‘सफलताका सुत्रहरु’,माहात्मा गान्धीको आत्मवृतान्त, यो वर्ष मदन पुरस्कार विजेता राजन मुकारुङ्को उपन्यास ‘दमिनी भीर’जस्ता दर्जनाँै पुस्तक हातमा देखाउँदै उनले थपे, ‘‘पुस्तक प्रदर्शनी त बेलाबेलामा भएरहनुपर्ने रैछ, नयाँका साथसाथै पुराना–पुराना पुस्तकहरु पनि पाइने ।’’
तसलिमा नसरिनका कृतिहरु र घरायसी उपचारसम्बन्धी पुस्तक लिने समाजशास्त्रमा स्नातकोत्तरतहमा अध्ययनरत सुम्निमा नेपालले भनिन, ‘नयाँ र पुराना लेखकका कृति सहज रुपमा पाउनका लागि पनि पुस्तक प्रदर्शनी जरुरी छ ।’BOOK
प्रदीप र सुम्निमाजस्तै दैनिक हजारौँ पाठकको आकर्षण साझा प्रकाशनद्वारा आयोजित पुस्तक प्रदर्शनीमा देख्न सकिन्छ । ‘‘गत वर्षको तुलनामा पाठकको पुस्तक पढ्ने बानी बढेको छ, नयाँ तथा पुराना कृतिहरु नयाँ पुस्ताले बढी रुचि राख्नु असाध्यै खुसीको कुरा हो,’’ साझा पुस्तक प्रदर्शनीका संयोजक हरिगोविन्द लुइँटेलले भने,‘‘यो वर्ष खासगरी पाठकको रुचिमा विविधता पाइयो, नयाँ र पुराना चर्चित साहित्य, खाना पकाउने कला, कृषि, अर्थतन्त्र, जीवनदर्शन, जीवनका उपयोगी सुत्रहरुजस्ता पुस्तकमा पाठकको आकर्षण देखियो ।’’
प्रदर्शनीमा राखिएका पुस्तकमध्ये सबैभन्दा बढी चर्चितमा  ‘दमिनी भीर’, सुधीर शर्माको ‘प्रयोगशाला’, शारदा शर्माको ‘ताप’, अखण्ड भण्डारीको ‘मलाया एक्पे्रस’, नयनराज पाण्डेको उपन्यास ‘घामकिरी’, हरिबंश आचार्यको ‘चिना हराएको मान्छे’, जगदीश घिमिरेको ‘सकस’,युग पाठकको ‘उर्गिनको घोडा’, गौरा प्रसाइँको आत्मजीवनी ‘मेरा जीवनका पाना’ जस्ता कृतिहरु रहेका छन् ।
त्यस्तै, पाठकले रुचाएका पुराना चर्चित कृतिमा ‘मुनामदन’, ‘मसान’ नाटक, इतिहास शिरोमणि बाबुराम आर्चायको ‘अब यस्तो कहिले नहोस’, भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, महाकवि देवकोटको ‘लक्ष्मी निबन्ध सङ्ग्रह’, बदरीनाथ भट्टराईको ‘एतिहासिक कहानीहरु’, लेखनाथ पौड्यालको ‘तरुण तपस्वी’,गुरुप्रसाद मैनालीको ‘नासो’जस्ता पुराना लोकप्रिय बनेका छन । पुरानो तथा लोकप्रिय सबैभन्दा कम मूल्यको कृति मुनामदन रु ३० देखि अहिलेको नयाँ कृति रु ६९८ पर्ने ‘प्रयोगशाला’जस्ता कृतिहरु पुस्तक प्रदर्शनीमा राखिएका छन् ।
साहित्य विधाअन्तर्गतका पुस्तकहरु मात्र हैन, बुद्धि, ज्ञान र सीप बढाउने खालको पुस्तकहरुमा पनि त्यतिकै पाठकको आकर्षणमा परेका छन । त्यसमा स्वास्थ्य चेतनासम्बन्धी पुस्कतमा जोर्नी दुखाइ, तुलसीपत्रको उपयोगिता, वरिष्ठ डा भरत रावलद्वारा लिखित ‘स्वस्थ जीवनशैली’ जस्ता पुस्तकहरु बढी मात्रामा पाठककले रुचाएका छन् भने खाना पकाउने कला, कृषि, अर्थतन्त्र, समाजशास्त्र, सङ्घीयता र नयाँ नेपालसम्बन्धी पुस्तकहरुमा पनि पाठकको आकर्षण बढेको छ । त्यस्तै मुलुक सङ्घीयतामा जान लागेको बेलामा प्रशन्नचन्द्र गौतम र डा बेनुबहादुर कार्कीले लेखेको ‘नेपालमा राष्ट्रियता, पहिचान, संस्कृति र सङ्घीयता’ नामक पुस्तक पनि पाठक मागभित्र परेको छ ।
अङ्ग्रेजी, भारतीय एतिहासिक तथा साहित्यका अनुवाद गरिएका कृतिहरुमा महात्मा गान्धी, तसलिमा नसरिनका नारीवादी कृतिहरु बढी मात्रामा बिक्री भएका छन् ।
साथै, जीवनदर्शनका पुस्तकहरु ः खुसी र सुखी जीवनसँग सम्बधित पुस्तकहरु, सकारात्मक सोच बढाउने खालका पुस्तक, विश्व प्रसिद्ध महान व्यक्तिहरुका पुस्तक, सफलताका सुत्रहरुजस्ता पुस्तकहरु पनि त्यतिकै मात्रामा पाठकको रुचिभित्र परेका छन् ।
दैनिकजसो काठमाडौँ उपत्यकाका कलेज, विद्यालयहरुबाट विद्यार्थीहरु प्रदर्शनीमा आइरहेका छन् । पुस्तक प्रदर्शनीका संयोजक लुइँटेलले थपे, ‘‘यसले गर्दा स्कुल, कलेजका शिक्षक तथा विद्यार्थीहरुलाई पनि विविध खालका पुस्तकहरु पढनुपर्छ भन्ने आकर्षण बढेको देखिन्छ ।’’
गत वर्षहरुमा पुस्तक प्रदर्शनी मात्र गरिने भएपनि अहिले पुस्तक प्रदर्शनी बाहिर ‘लेखक–पाठक मञ्च’ दिनमा दुइपटक विभिन्न नयाँ–नयाँ साहित्यका विषयमा अन्तक्र्रियासमेत हुने गरको छ भने ‘स्मरण शक्ति कसरी बढाउने ?’ भन्ने विषयमा दैनिक दुईपटक आधाआधा घन्टा इन्जिनियर उत्तममान महर्जनले सिकाउने कार्यक्रम समेत तय गरिएको छ  ।
पुस्तकप्रतिको आकर्षण सामान्य पाठकदेखि लिएर राजनेता, साहित्यकार, पत्रकार र कलाकारमा समेत परेको छ । पुस्तक प्रदर्शनीमा एकीकृत नेकपा (माओवादी) का नेताहरुः नारायणकाजी श्रेष्ठ, दीनानाथ शर्मा, केशव नेपाल र गणेशमान पुन, नेपाली काँग्रेसका नेताहरुः लक्ष्मण घिमिरे, बलदेव मजगैया, नेकपा (एमाले) नेताहरु केशव बडाल, अष्टलक्ष्मी शाक्य र नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण र भूमिगत नेता मोहनविक्रम सिंह पनि पुस्तक प्रदर्शनीमा पुगेर आफूले रुचाएका पुस्तकहरु किनेको संयोजक लुइँटेलले जानकारी दिए । साहित्यकारहरु डा मुकेश चालिसे, डा अभि सुवेदी, डा धु्रवचन्द्र गौतम, निनु चापागाईंलगायत आएका छन भने नायिका रेखा थापा पनि पुस्तक प्रदर्शनीमा पुगेकी थिइन ।
साझा प्रकाशनको संयोजकत्वमा ५६ वटा निजी प्रकाशनहरुका प्रकाशन गरी जम्मा १५ हजार शीर्षकका पुस्तकहरु प्रदर्शनीमा राखिएका छन् भने यही असोज १ गतेदेखि १५ गतेसम्म हुने भनिएको पुस्तक प्रदर्शनी विद्यार्थी सङ्गठन अनेरास्ववियुको २१ औँ महाधिवेशनको मतदान कार्यले गर्दा दुईदिन स्थगित भएकाले प्रदर्शनी असोज १७ गतेसम्मका लागि थप गरिएको छ । साझा प्रकाशनका शाखा इलाम, झापा, विराटनगर, धरान, राजविराज, जनकपुर, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, बागलुङलगायतका २६ वटा शाखामा एकै पटक पुस्तक प्रदर्शनी भइरहेको साझाले बताएको छ ।
दैनिक १५ हजारको हाराहारीमा पाठकहरु पुस्तक प्रदर्शनीमा आएको र दैनिक रु चार लाखदेखि रु आठलाखसम्मको पुस्तक बिक्री भएको र हालसम्म एकलाखभन्दी पाठकहरु पुस्तक प्रदर्शनीमा आएको र रु ९० लाखभन्दा बढीको पुस्तक बिक्री भइसकेको पनि साझा प्रकाशनले जनाएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us