प्रचण्ड राष्ट्रपति, बाबुराम प्रधानमन्त्री !

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते १४:४७ मा प्रकाशित

काठमाण्डु– मंसिरमा संविधानसभाको निर्वाचन सम्पन्न भएपछि एकीकृत ने.क.पा.(माओवादी)ले अध्यक्ष प्रचण्डलाई राष्ट्रपति र वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने ‘भद्र सहमति’ शीर्ष नेतृत्व तहमा भएको स्रोतहरुको भनाइ छ ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुबीच अध्यक्ष प्रचण्डले आफूलाई जिताए उक्त क्षेत्रका मतदाताले देशकै राष्ट्रपति पाउने बताएबाट र बाबुराम भट्टराईले मतदाताबीच आफूलाई देशको सम्भाव्य प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेबाट पनि उपर्युक्त तथ्य प्रस्ट हुँदै गएको एमाओवादीका एकजना केन्द्रीय नेताले जानकारी दिएका छन् ।

त्यसैगरी, एमाओवादीले संविधानसभा निर्वाचनका लागि जारी गरेको प्रतिबद्धतापत्रमा पनि अध्यक्ष प्रचण्डलाई राष्ट्रका नेताको रुपमा प्रस्तुत गरिएको छ । ‘राष्ट्रका नेता’ भनेर लाक्षणिक रुपमा राष्ट्रपतितर्फै संकेत गरिएको एकजना राजनीतिक विश्लेषकको भनाइ छ ।

Prachand_and_baburamकटवाल प्रकरणदेखि हालसम्म सेरेमोनियल नै भनिएका भए पनि राष्ट्रपतिले अभ्यास गर्दै आएको शक्तिप्रदर्शनबाट एकीकृत माओवादी राष्ट्रपति कुनै पनि हालतमा आफ्नै हुनुपर्ने निष्कर्षमा पुगेको बताइन्छ । एकीकृत ने.क.पा.(माओवादी)ले आफ्नो चुनावी प्रतिबद्धतापत्रमा केन्द्रमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र प्रतिनिधिसभाबाट निर्वाचित प्रधानमन्त्रीको परिकल्पना गरेको छ ।

राष्ट्रपतिले राष्ट्राध्यक्ष, सेना प्रमुख र कार्यकारी प्रमुखको भूमिका निर्वाह गर्ने र प्रधानमन्त्रीले दैनिक सरकार र प्रशासन सञ्चालनको जिम्मेवारी बहन गर्ने पनि एकीकृत माओवादीको प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ । देशमा राजनीतिक स्थिरता कायम गर्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने एमाओवादीको जिकिर छ ।

अंकुर साप्ताहिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us