पाला बनाउन भ्याइनभ्याइ, फूलखेतीले मनग्गे आम्दानी

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते ११:५२ मा प्रकाशित

Tihar_dipawali_pala_sayapatri_phoolभक्तपुर, १४ कात्तिक- तिहार आएपछि भक्तपुरमा माटोका भाँडा बनाउँदै आएका कुमाले समुदायलाई पाला बनाउन र बिक्री गर्न भ्याइनभ्याइ भएको छ । माग धेरै भएकाले र तिहार आइसकेकाले यहाँका पाला बनाउने कुमाले समुदायका सिङ्गो परिवार पाला बनाउन र बिक्री गर्न मै व्यस्त भएका छन् ।

काठमाण्डु उपत्यकादेखि उपत्यका बाहिरसम्मबाट लाखाैँ पालालगायतका सामग्रीको अर्डर आएपछि कुमाले समुदायलाई भ्याइनभ्याइ भएको हो । अहिले भक्तपुर र थिमिका प्रजापतिले माटोका पाला, खुत्रुके, अम्बरा, धुपौरो, गमला, सुराई, कलिञ्चाजस्ता सामानको माग बढेकाले यस्ता साामान बनाउन व्यस्त रहेका छन् ।

भक्तपुरमा आकर्षक माटोको भाडा बनाउने बोलाछें १२ र तालाको पोर्टरी स्क्वायर तथा मध्यपुरथिमिका नगदेश, बोडे, चपाचो, पाँचोलगायतका स्थानका प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पालालगायतका अन्य सामग्री बनाउन एकछिन फुर्सद छैन । ‘तिहार आइसक्यो माटोको पाला, भिउँट, धुपौरोको थुप्रै अर्डर आएको छ, तिहार अघि जसरी पनि सामान दिनुपर्छ । अहिले भ्याइनभ्याइ छ’– वर्षौंदेखि माटोको भाँडा बनाउँदै आएका स्थानीय दयाराम प्रजापतिले बताए ।

वर्षभरिमा राम्रो आम्दामी गर्ने समय नै यही हो भन्दै उनले यो मौकालाई गुम्न नदिन सपरिवार बिहानैदेखि रात नपरेसम्म काममै व्यस्त हुने बताए । माटोको भाडा बनाउने आधुनिक मेसिनमा एकछिन हात खाली नराखी पाला बनाउन व्यस्त युवा रुजेन प्रजापति एक दिनमा एक हजारदेखि १५ सयसम्म पाला बनाउने गरेको बताउँछन् ।

गत वर्षको तिहारमा १०० वटा पालाको रु ७५ देखि ९० सम्म बिक्री गर्ने गरेपनि यस वर्ष भने यसको मूल्य बढेको छ । माटोको अभाव र टाढादेखि माटो ल्याउनु पर्ने समस्याका लागि पालाको मूल्य बढेको रुजेन बताउनुहुन्छ । यस वर्ष भक्तपुरमा प्रति पाला रु एकमा बिक्री भएको छ । खुद्रा मूल्य भने १०० वटा पालाको रु ११५ सम्म पर्ने गरेको प्रजापति बताउँछन् ।

फूलखेतीले मनग्गे आम्दानी

बर्दिवास– आफ्नै करेसाबारीको फूलले निक्कै आम्दानी दिएपछि यहाँका गृहिणी महिला व्यावसायिक रुपमै फूलखेती गर्ने टुङ्गोमा पुगेका छन् । यसपालि तिहार सुरु अघि आफ्नो घर करेसामा फूलेको फूलले मनग्गे आम्दानी दिएपछि जिल्लाको मध्यउत्तर क्षेत्रका गृहिणी महिला व्यावसायिक रुपमै यस्को खेती गर्ने टुङ्गोमा पुगेका हुन् ।

कुनै व्यावसायिक प्रयोजनबिना नै शोभाका लागि लगाइएको घर करेसाको मखमली, सयपत्री र गोदाबरीसहितका फूलबाट घरै बसेर दुई÷चार हजार आम्दानी गर्न सकिने गृहिणी महिलाको भनाइ छ । यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरु ग्राहकले आफ्ना ५० वटाजति बोटका सयपत्री फूल लैजाँदा तीन हजारभन्दा बढी आम्दानी भएको किसाननगर–५ की मुना खत्रीले बताइन् ।

तिहार र छठजस्ता पर्व र सालैभरि आयोजन हुने धार्मिक अनुष्ठान एवम् पूजाअर्चनालाई लक्षितगरी यसको व्यावसायिक फूलखेती सुरु गरिए जिल्लामा थप एउटा आर्जनको बाटो खुल्ने जिल्ला कृषि विकास कार्यालय महोत्तरीका वरिष्ठ कृषि विकास अधिकृत शङ्करप्रसाद साहले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us