स्याङ्जा २ मा त्रिपक्षीय प्रतिस्पर्धा

काठमाण्डु टुडे २०७० कार्तिक १४ गते २:०४ मा प्रकाशित

स्याङ्जा, १४ कात्तिक–मङ्सिर ४ गते हुने दोस्रो संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा मुख्य तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । क्षेत्र नं २ मा एनेकपा माओवादीका तर्फबाट कल्पना अर्याल, नेपाली काँग्रेसका जिल्ला सभापति कमलप्रसाद पँगेनी र एमालेका कृष्ण खाँण उम्मेदवार छन् । २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार गोपालमान श्रेष्ठ निर्वाचित भएको सो क्षेत्रमा अहिले कुन दलका उम्मेदवारले बाजी मार्ने हो भनेर भन्न सक्ने अवस्था नरहेको सर्वसाधारणको भनाइ छ ।

पहिलो संविधानसभा निर्वाचनमा नेपाली काँगेसका उम्मेदवार श्रेष्ठ १७ हजार २४७ मत ल्याएर विजयी भएका थिए भने एमालेका उम्मेदवार चक्रबहादुर पराजुलीले १२ हजार १७३ मत र माओवादीका उम्मेदवार दीपा भुसालले ११ हजार ८२४ मत ल्याएका थिए ।

अघिल्लो निर्वाचनमा कुल पाँच हजार ७४ मतले विजयी भएको काँग्रेसले यसपटकको निर्वाचनमा पनि आफूले जित्ने दाबी गरेको छ । ‘स्याङ्जा क्षेत्र नं २ पहिल्यैदेखि नै नेपाली काँग्रेसको पकड रहेको निर्वाचन क्षेत्र हो,’ नेपाली काँग्रेसका उम्मेदवार पँगेनीले भने, ‘नेपाली काँग्रेसले विकास निर्माण लगायतका सामाजिक काम गरेर यस क्षेत्रका मतदाताको मन जित्ने काम पनि गरेको छ त्यसैले अहिले पनि नेपाली काँग्रेस नै यस क्षेत्रमा अगाडि रहन्छ ।’

त्यस्तैगरी एमालेका तर्फबाट क्षेत्र नं २ का उम्मेदवार कृष्ण खाँण पनि जिल्लाको क्षेत्र नं २ मा लोकप्रिय मानिन्छन् । काँग्रेसका उम्मेदवार पँगेनी जिल्लाको खिलुङ देउराली गाविसका हुन् भने खाँण वालिङ नगरपालिकाकै बासिन्दा हुन् । पँगेनी नगरपालिकाभन्दा बाहिर रहेर लामो समयदेखि राजनीतिमा लागेका नेता हुन् भने खाँण लामो समयदेखि नगरपालिकामै राजनीति गरेका व्यक्ति हुन् । गाविसहरुको तुलनामा वालिङ नगरपालिकामा मतदाता सङ्ख्या धेरै भएको र निर्वाचनको निर्णायक पनि नगरपालिका नै हुने देखिएकाले क्षेत्र नं २ मा एमालेले बाजी मार्ने दावी खाँणको छ । निर्णायक मतका रुपमा देखिएको वालिङ नगरपालिकाको २०५४ सालको स्थानीय निर्वाचनमा काँग्रेसका उम्मेदवार भोजराज अर्यालले एमालेका खाँणलाई १७२ मतले पराजित गरेका थिए ।

एमालेका उम्मेदवार खाँणले भने, ‘नरपालिकामा झिनो मतले पराजित भएको हुँ, निर्णायक नै नगरपालिका भएकाले यसपटक आफ्नो पक्षमा जनलहर चल्ने विश्वास मलाई छ ।’

त्यस्तैगरी एनेकपा माओवादीका तर्फबाट उम्मेदवारी दिएकी कल्पना अर्यालले स्याङ्जाका तीनवटा क्षेत्रमा महिला उम्मेदवार नभएको र आफूले मात्रै महिलाको प्रतिनिधित्व गर्न सक्ने भएकाले आफूले चुनाव जित्ने दाबी गरिन् । ‘संविधानसभाको माग उठाउने पहिलो दल भनेकै एनेकपा माओवादी हो,’ अर्यालले भनिन्, ‘जसले संविधानसभाको मुद्दा उठायो त्यो दलले मात्रै संविधान निर्माण गर्न सक्छ, त्यसैले यो पटक जनमत मेरो पक्षमा देखिएको छ ।’

२०६४ सालको निर्वाचनमा पनि तत्कालीन माओवादीका तर्फबाट उम्मेदवारी दिएकी दीपा भुसालले कुल ११ हजार ८२४ मत पाएकी थिइन् । अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार पराजुलीको र माओवादीका उम्मेदवार भुसालले प्राप्त गरेको मत अन्तर जम्मा ३४९ रहेको थियो । त्यस्तै अघिल्लो निर्वाचनमा चौथो दलका रुपमा देखिएको नेकपा संयुक्तका रुद्रबहादुर थापाले एक हजार ८९ मत ल्याएका थिए ।

अघिल्लो संविधानसभा निर्वाचनमा भन्दा यसपटक मतदाताको सङ्ख्या पनि झन्डै आधाले कमी देखिएको छ । जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख गङ्गालाल सुवेदीका अनुसार स्याङ्जा क्षेत्र नं २ मा अघिल्लो निर्वाचनमा ९९ हजार २५६ मतदाता रहेका थिए तर अहिले फोटोसहितको मतदाता नामावलीमा त्यो सङ्ख्या घटेर ५३ हजार ३७० मात्रै रहेको छ ।

स्याङ्जा क्षेत्र नं २ मा अखण्ड नेपाल पार्टी, सङ्घीय समाजवादी पार्टी, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चालगायतका १२ दल चुनावी प्रतिस्पर्धामा रहेको र मतदाताको सङ्ख्या झन्डै आधाले कमी रहेकाले पनि कुन दलले बाजी मार्छ भनेर भन्न नसकिने अवस्था देखिएको सर्वसाधारणको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us