तिहारको मौका छोपेर भारतबाट अखाद्य तेल र सस नेपाल भित्रिँदै

काठमाण्डु टुडे २०७० कार्तिक १३ गते ११:५९ मा प्रकाशित

oilकञ्चनपुर, १३ कात्तिक– खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करले कञ्चनपुरमा अखाद्य प्रतिबन्धित खाने तेल भित्र्याउन थालेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, लक्ष्मीपुर, महाकाली पारीका दोधारा चाँदनी क्षेत्रबाट प्रतिबन्धित खाने तेल भित्र्याउने गरेको पाइएको हो ।

तिहार र छठलगायतका चाडपर्व नजिकिँदै गर्दा भारतबाट अखाद्य तेल भित्रिने क्रममा तीव्रता आएको छ । तोरीको शुद्ध तेल भन्दै तस्करहरुले भारतीय विभिन्न कम्पनीद्वारा उत्पादन गरिएका चक्र, बैलकोल्हु, बालक सोहनलगायत नामका अखाद्य तेल यहाँका बजारमा छ्याप्छ्याप्ती पाइने गरेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत सञ्जीवकुमार कर्णले बताए ।

‘ब्रान र तोरीको तेल मिश्रण गरेर बनाइएका यस्ता तेलले स्वास्थ्यमा नकारात्मक असर गर्ने भएकाले बेचबिखनमा प्रतिबन्ध लगाइए पनि ग्रामीण क्षेत्रमा यसको बिक्री व्यापकरुपमा भइरहेको पाएका छाँ’ उनले भने । अनुगनमनका क्रममा २० प्रतिशत तोरीको बास्ना आउने पदार्थ मिसाइएको र ८० प्रतिशत हानिकारक रसाइन मिसाएर बजारमा बेच्नका लागि राखिएका तोरीको तेल भनेर बेच्ने गरेको पाइएको उनले बताए ।

मिसावट गरेर बिक्रीका लागि भारतबाट ल्याइने खाने तेलका कारण क्यान्सर जस्तो प्राणघातक रोगसमेत लाग्ने भएकाले उपभोक्ताले प्रतिबन्धित खाने तेलको प्रयोग गर्न नहुने उनले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय अप्रमाणित तोरीको तेल ल्याउन नै बन्देज गरेको छ ।

सस पनि अयोग्य

यसैगरी, भारतबाट व्यापारीले बिक्रीका लागि ल्याउने गोलभेंडा, खुर्सानी, निबुवा लगायतका सससमेत खानका लागि अयोग्य रहेको पाइएको छ ।

ससमा लेबल नहुने, उत्पादन र अन्तिम मिति नहुने, रङ्ग धेरै राखेर बाक्लो बनाइ बेच्नका लागि बजारमा भारतीयले पठाउने गरेको बरिष्ठ खाद्य अनुसन्धान अधिकृत कर्णले बताए ।  भारतबाट ल्याइने खाद्य वस्तुको प्रयोग गर्नुअघि नेपाल सरकारले खान हुने नहुने भनेर प्रमाणित गरेको अवस्थामा मात्रै यस्ता वस्तुको प्रयोग गर्न उनले सल्लाह दिएका छन् ।

सरकारद्वारा प्रमाणित नगरिएका यस्ता खाद्य पदार्थको बिक्री वितरण गरेको पाइएमा खाद्य ऐनअनुसार रु पाँच हजारदेखि १० हजारसम्म जरिवाना वा छ महिनादेखि दुई वर्षसम्म कैदको व्यवस्था छ । यस्ता खाद्य पदार्थको प्रयोगबाट अङ्गभङ्ग भएमा वा कसैको मृत्यु भएमा रु एक लाखसम्म क्षतिपूर्तिसमेत असुल उपर गर्नसक्ने कानुनी व्यवस्था रहेको कार्यालय प्रमुख कर्णले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us