नयाँ युगमा प्रवेश गर्छ नेपाल तीन सातापछि

काठमाण्डु टुडे २०७० कार्तिक १२ गते ८:०९ मा प्रकाशित

काठमाण्डु,१२ कात्तिक–मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले अवको तीन सातापछि संविधानसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर नेपाल नयाँ युगमा प्रवेश गर्ने बताएका छन । अवरुद्ध राजनीतिक प्रक्रियाको उत्तम विकल्प निर्वाचन नै भएको स्मरण गराउदै अध्यक्ष रेग्मीले त्यस्तो धारणा व्यक्त गरेका हुन । khilraj
६८ औ राष्ट्रसङ्घीय दिवसको अवसरमा मंगलवार ललितपुरस्थित  राष्ट्रसङ्घीय कार्यालयमा आयोजित एक कार्यक्रममा उनले विघटित संविधानसभाले गरेका कामबाट पाठ सिकेर समग्रतामा अबको चुनावले शान्तिप्रक्रियालाई पूर्णता दिने बताए ।
“नयाँ संविधान लेखनका साथै राजनीतिक स्थायित्वको आधार, समावेशी आर्थिक उन्नयन एवम् विकासलाई सुनिश्चित गर्न आगामी निर्वाचन महत्वपूर्ण हुनेछ,” उनले भने‘सबै वर्ग, जाति, समुदाय, लिङ्ग र भौगोलिक क्षेत्रका जनताको प्रजातान्त्रिक अधिकार स्थापना गर्नेछ ।
यस दिवसका अवसरमा महासचिव बानकी मुनले जारी गर्नु भएको सन्देशप्रति नेपालको ऐक्यबद्धता प्रकट गर्दै अध्यक्ष रेग्मीले भने ‘राष्ट्रसङ्घीय दिवसले हामी सबैलाई शान्ति, सुरक्षा, विकास र विश्वका सबै जनताको स्वतन्त्रताका लागि सहकार्य गर्न प्रेरणा प्रदान गरोस् ।’
मानव समुदायको विकास, विश्वका विभिन्न भागमा उत्पन्न समस्या समाधानका लागि विश्व संस्थाले गरेका समाधानका बहुपक्षीय प्रयास एवम् समझदारीको खोजीका कारण राष्ट्रसङ्घ नेपालीको मन र मस्तिष्कमा रहेको बताउँदै उनले राष्ट्रसङ्घको वडापत्रप्रति नेपालको अविछिन्न विश्वास रहेको बताए ।
लामो सङ्क्रमणबाट निस्केर दिगो शान्ति एवम् राजनीतिक स्थायित्व कायम गर्नु नेपाल र नेपालीको अहिलको चाहना भएको उल्लेख गर्दै उनले न्याय र समानतामा आधारित दिगो विकास हासिल गर्न इस्तानबुल कार्ययोजना कार्यान्वयनको तयारीमा सरकार रहेको जानकारी दिए । सहस्राब्दी विकास लक्ष्यको प्राप्ति र सन् २०२२ मा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्ने लक्ष्यका साथ सरकार अघि बढेको पनि उनले बताए ।
विश्व समुदायको शान्ति, प्रगति एवम् शान्ति प्राप्तिका निम्ति राज्यहरूबीचको सहकार्य र सहयोगका लागि वडापत्रमा निहित उद्देश्य र सिद्धान्तहरू प्रेरणाका स्रोत हुन् भन्दै अध्यक्ष रेग्मीले अन्तर्राष्ट्रिय शान्ति–सुरक्षा, स्वतन्त्रता एवम् मानव अधिकारको सुनिश्चितता, दिगो समृद्धि र साझा चासोका समस्या समाधान गर्ने संस्थाको रुपमा राष्ट्रसङ्घ केन्द्रमा रहेको बताए ।
“गरिबी विश्वव्यापी समस्या हो र दिगो विकासका निम्ति गम्भीर व्यवधान हो, यसविरुद्ध लड्न उपलब्ध स्रोतको सबै पक्ष र स्थानबाट उपयोग हुनुपर्छ,”–उनले भने–सहस्राब्दी विकास लक्ष्यलगायत अन्तर्राष्ट्रियरुपमा सहमति जनाइएका विकासका लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासको खाँचो छ ।
वित्तीय तथा आर्थिक  सङ्कट, जलवायु परिवर्तनको कुप्रभाव र दैवी विपत्तिका घटनाले अन्तर्राष्ट्रिय समुदायलाई एकीकृत ढङ्गले काम गर्न झक्झक्याएको वास्तविकता पनि उनले औँल्याए । विकासका उपलब्धिको दिगोपना, सुनिश्चितता र विकासको गतिलाई अझ तीव्र बनाउन अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य हुनुपर्नेमा उनको जोड थियो ।
आम विनाशका हतियारको भण्डारण र घातक अस्त्रहरूको बढ्दो बिगबिगीले विश्वका विभिन्न भागमा तनाब र द्वन्द्व निम्त्याएको र त्यसले मानव सभ्यताको अस्तित्वलाई जोखिममा पारेको चर्चा गर्दै अध्यक्ष रेग्मीले निःशस्त्रीकरण एवम् हातहतियारको उत्पादन÷प्रयोग निमिट्यान्न पार्न पनि एकीकृत प्रयास अपरिहार्य भएको बताए ।
संसारका समस्याग्रस्त विभिन्न मुलुकमा शान्तिसेना परिचालन गरेर राष्ट्रसङ्ले विश्व शान्ति एवम् सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनले शान्ति सेनामा नेपालको निरन्तर योगदान रहने प्रतिबद्धता व्यक्त गरे ।
विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएपछि नेपालको शान्ति प्रयासमा राष्ट्रसङ्को महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै उनले यहाँको सामाजिक–आर्थिक विकासका निम्ति प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गरे । समावेशी विकास, राज्यका महत्वपूर्ण अङ्गहरूको सुदृढीकरण, भौतिक पूर्वाधार निर्माण, जलवायु परिवर्तनका प्रभाव र प्राकृतिक विपत्तिविरुद्धका सरकारी प्रयासमा राष्ट्रसङ्घ र त्यससँग सम्बद्ध अन्य संस्थाले गरेको योगदानको रेग्मीले प्रशंसा पनि गरेका छन ।
“सरकारका प्राथमिकता र आवश्यकताअनुसार सम्बद्ध सरकारी निकायसँगको परामर्शमा सहायता परिचालन गर्न अनुरोध छ”–उनले भने ।
राष्ट्रसङ्का आवासीय समन्वयकर्ता जिम्मी म्याकगोल्डरिकले नेपालको विकास प्रयासमा राष्ट्रसङ्ले सधैँ सघाउने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन आचारसंहिता पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरे । उनले निर्वाचनमा धाक, धम्कीजस्ता गैर प्रजातान्त्रिक चरित्र प्रस्तुत हुन नहुनेमा जोड दिए । राजनीतिक दलहरू नेपालमा शान्ति र स्थायित्व कायम गर्न सफल हुनेमा आफू विश्वस्त रहेको पनि उनले बताए ।
समारोहमा उनले २५ देखि ३५ वर्षसम्म राष्ट्रसङ्मा सेवा गरेका कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिएको थियो । समारोहमा ‘मेरो सपनाः संविधान’ लघु नाटक पनि प्रस्तुत गरिएको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us