काँग्रेसले आफ्नो साख जोगाउनै सक्दैन:बाबुराजा ओझा मोरङ क्षेत्र नम्बर ६

काठमाण्डु टुडे २०७० असोज १८ गते ३:४४ मा प्रकाशित

२२ वर्ष नेपाली काँग्रेसमा राजनीति गरेर एकीकृत नेकपा (माओवादी) का तर्फबाट संबिधानसभा निर्वाचनमा उम्मेदवार बनेका बाबुराजा ओझा  मोरङ क्षेत्र नम्बर ६ मा पूर्व अर्थमन्त्री तथा काँग्रेस नेता महेश आचार्यसँग प्रतिस्पर्धा गरिरहेका छन । उनी भन्छन–काँग्रेसले आफ्नो साख जोगाउनै सक्दैन।Baburaja ojha
० तपाईको उम्मेद्वारीले एमाओवादीको एक सिट थपिन्छ कि तपाईको इच्छा मात्र पुरा हुन्छ ?
–मेरो इच्छा र चाहनाको विषय मात्र हैन । म जहाँ रहे पनि जनताको काम गर्दै आएको छु । एमाओवादीले मलाई गरेको मुल्याकंनप्रति धेरै साथीहरु खुशी हुनुहुन्छ । मेरो मुल्यांकन अनुसारको परिणाम दिनु मेरो कर्तव्य हुन्छ । त्यसकारण एमाओवादी पार्टीको बहुमत र संघीयता पक्षधरको दुईतिहाई बहुमत पुग्न मेरो एक सिट सुरक्षित छ । मैले जित्नु पार्टीले नै जित्नु हो ।
० आकस्मिकतामा एमाओवादीको उम्मेद्वार बनेर चुनावमा होमिनु भएको छ, पुराना कार्यकर्तासँग घुलमिल हुन समस्या छैन ?
–म जुनबेला काँग्रेसमा थिएँ, त्यसबेला यस क्षेत्रका साथीभाई र आम मतदाता मित्रहरुले समेत मेरो उम्मेद्वारीको माग गर्नुभएको थियो । क्षेत्रगत रुपमा भएको सिफारिसमासमेत मेरो नामलाई साथीहरुबाट सर्वसम्मत रुपमा अगाडि सारिएको हो । मेरो जनतासँग सम्बन्ध अर्को पार्टीले थाहा पाउँदा नेपाली काँग्रेसले थाहा पाएन । जुन दलले क्षमतालाई चिन्यो उही दलले जनताको नेतृत्व गर्दछ भन्ने मैले विचार गरेर एमाओवादीमा आएँ । अहिले मसँगै एमाओवादीका साथीहरु चुनावमा छौं, काँग्रेसमा रहँदाका साथीभाइसँग दैनिक भेटघाट भइरहेको छ । एमाओवादीका कमरेडहरुले पनि मलाई सकारात्मक रुपमा सहयोग गर्नुभएको छ । निर्वाचन मैले नभएर एकीकृत नेकपा (माओवादी) ले लडिरहेकाले कुनै समस्या छैन ।
० तर, तपाईले टिकट नपाएको झोँकले मात्र काँग्रेस छाडेको आरोप छ नि ?
–मलाई त अचम्म के लाग्छ भने, म एमाओवादी भएँभन्दा पनि एमाओवादी पार्टीको योजना, वस्तुगत अवस्थाको विश्लेषण, त्यसले आफ्नो दलमा पार्ने प्रभाव मूल्याकंनको विषयको अध्ययन वस्तुवादी रहेछ । बाबुराजा ओझाले ६ नम्बर निर्वाचन क्षेत्रमा उम्मेद्वारी पाए निर्वाचित हुन्छ भन्ने रिपोर्ट एमाओवादीले उसको हेडक्वार्टरमा चुनाव हुनुभन्दा चार महिना अगाडि पठाएको रहेछ । पछिल्लो समय एमाओवादीको दुष्टिकोण मलाई मन पर्दै थियो तर, काँग्रेस त्यागिसकेको थिइन । तर, नेपाली काँग्रेसले इमान्दार कार्यकर्ताको मूल्यांकन गर्न नसक्ने र मुलुकलाई निकास दिन नेतृत्व गर्न नसक्ने निश्कर्षमा म पुगे । त्यहीबेला एमाओवादीको पूर्वी ब्यूरोको इन्चार्ज बनेर आउनु भएका नेता वर्षमान पुनसँग भेट भयो । उहाँले एमाओवादीमा प्रवेशको आग्रह गर्नुभयो । मैले धेरै सोचविचार गरेपछि प्रस्ताव स्वीकार गरेको हुँ । एमाओवादीमा प्रवेशपछि पार्टीले मलाई उम्मेद्वार बनाएको हो ।
मैले पनि हेटौडा महाधिवेशनदेखि नै एमाओवादीको स्पष्ट विचार र नीतिको अध्ययन गर्दै आएको थिएँ । राष्ट्रलाई अगाडि बढाउने नेता भनेर अध्यक्ष प्रचण्डका विषयमा बहस गर्दै आएको थिएँ । जुन दलमा बसेर भए पनि जनताकै सेवा गर्ने हो भन्ने भएपछि एमाओवादी पार्टी स्वीकार गरे र अहिले चुनावी मैदानमा एमाओवादीको उम्मेद्वार बनेर उत्रेको छु । अहिले पनि क्षमतावान् साथीहरु काँग्रेसमा ठसक्क परेर बस्नुपर्ने अवस्था छ । पुराना नेताहरु जसले पटक–पटक जनतालाई ढाँटेका छन्, उनीहरु नै उम्मेद्वार बन्ने कुराले काँग्रेसलाई छोड्ने छैन । त्यसैले सबैलाई म सचेत हुन र हिम्मत गर्न आग्रह गर्दछु ।
० के भन्नुहुन्छ भर्खरै छोडेर आएको पार्टी काँग्रेसका साथीहरुलाई ?
–मित्रहरुसँग मेरो कुनै विमति छैन । नयाँ अनुहार र युवालाई नल्याई नेपाली काँग्रेसले आफ्नो साख जोगाउनै सक्दैन । पुरानाको राजनीतिक स्कूलिङ्ग निक्कै खराब छ । त्यसले चिन्तनसमेत खराब बनाएको छ । मानौं न प्रजातन्त्रको पुनस्र्थापनापछि नेपाली काँग्रेसभित्र कसरी भ्रष्टाचार मौलायो । त्यसपछिको राजनीतिक चिन्तनबाट हावी भएकाहरुको अवस्था हेर्न खुमबहादुर, गोविन्दराज, जेपी गुप्ता, चिरञ्जीवी वाग्लेहरुले गरेको भ्रष्टाचार र पुरुषलाई दिएको सुत्केरी भत्ताले स्पष्ट पार्दछ । अहिले त्यस्ता व्यक्तिहरुसँगै राजनीति गरेका पुराना नेताहरु मोरङमा अझै हावी छन् । तिनीहरुसँग जनता बच्नु पर्दछ । नेपाली काँग्रेसभित्रै रहेका इमान्दारहरु ओझेलमा छन् । यस्तै रहे अब युवा साथीहरु काँग्रेसमा रहन सक्नुहुन्न । यही अवस्थामा काँग्रेसको फेरो समाएर समाज र देशको विकास हुन्छ भन्ने अपेक्षा राख्न सकिने स्थिति छैन त्यसबारे इमान्दार काँग्रेसीहरुले बेलैमा सोच्नुपर्छ ।
० पुरानो पार्टी छोडेर नयाँ पार्टीमा आउँदा छुट्टै अनुभव भएको छैन ?
–काँग्रेसमा २२ वर्ष रहँदासमेत मैले जनतालाई विभाजित गरिन । जसको जे समस्या हो, समस्या समाधान गर्न सबैसँग सँगै रहें । त्यही भएर जहाँ भए पनि जनतासँगै हुँदा केही बेग्लै अनुभव छैन ।
० क्षेत्रका मतदाताको मनोभावना चाँही कस्तो बुझ्नु भएको छ ?
–यस क्षेत्रमा काँग्रेस, एमाले र फोरमका उम्मेद्वारलाई मतदाता मित्रहरुले जिताइसक्नु भएको छ । अब पालो एमाओवादीको भन्ने धेरैको मनोभावना पाएको छु । एउटा एमाओवादीले विगतमा गरेका विभिन्न कामहरुका कारणले मत खस्ने पाएँ, अर्को एमाओवादीको आगामी एजेण्डाप्रति जनताको बढी चासो रहेको पाएँ र व्यक्तिगत रुपमा बाबुराजा ओझाको सम्बन्धलाई कायम राखिरहने मनोभावना पाएँ । मेरो अध्ययनले यस क्षेत्रका मतदाताले यसपटक एमाओवादीको गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्नेछन् ।
० निर्वाचनमा उम्मेदवार बनेर प्रचार–प्रसारमा व्यस्त हुनुहुन्छ, कस्तो माहौल पाउनु भएको छ ?
–मोरङ जिल्लामा मैले एउटा दलको राजनीतिक प्रतिनिधिको हैसियतले धेरै जनतासँग पहिलेदेखि नै जोडिएर काम गर्दै आएको थिएँ । अहिले एमाओवादी पार्टीको तर्फबाट गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्ह लिएर उम्मेदवार बनेको छु । पुराना साथीहरुसँग भेटघाट गर्दैछु, उहाँहरुलाई सम्मान गर्नु मेरो कर्तव्य हो । नयाँ साथीहरुसँग अन्तरघुलन र जानपहिचानमा व्यस्त छु । अहिलेसम्म आउँदा धेरै साथीभाइबाट सकारात्मक सन्देश पाएको छु । कृष्णसेन समाचार सेवा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us