मतदाता परिचय-पत्र छपाई शुरु

काठमाण्डु टुडे २०७० कार्तिक १० गते १५:५८ मा प्रकाशित

निर्वाचन आयोगले तीन सातापछि हुने संविधानसभा चुनावमा मत हाल्ने मतदाताको फोटो सहितको परिचय-पत्र छाप्न शुरु गरेको छ।

बोलकबोल प्रतिष्पर्धा मार्फत मतदाता परिचय-पत्र छपाउने पहिलेको योजना कार्यान्वयन हुन नसकेपछि आयोग आफैले आइतवार रातीदेखि परिचय-पत्र छाप्न थालेको हो।

दश दिनभित्रै छापेर चुनाव अघि नै करिव सवा करोड मतदाताको हातमा परिचय पत्र पुर्‍याउने आयोगको लक्ष्य छ।

प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, “हामीले बढीमा दशदिनभित्र तर सकेसम्म रातदिन गरी सात दिनभित्र परिचय-पत्र छापि सक्ने लक्ष्य लिएका छौं।”

आशंका

फोटो सहितको मतदाता नामावली संकलन गर्दा आयोगले सबै मतदातालाई फोटो अंकित परिचय-पत्र पनि दिने घोषणा गरेको थियो।

आयोगको उक्त कदमले फर्जी मत हाल्ने वा दोहर्‍याएर मत खसाल्ने विगतको गलत परम्परामा अंकुश लगाउने ठानिएको थियो।

तर चुनाव मुखमै आइसक्दा पनि छाप्न शुरु नगरिएपछि धेरैले निर्वाचन आयोगले मतदातालाई परिचय-पत्र पुर्‍याउनेमा आशंका गर्न थालेका थिए।

आयोगका अधिकारीहरुले समेत परिपय-पत्र छपाउने पूर्वयोजना अवरुद्ध भएपछि नागरिकता वा फोटो सहितको अन्य परिचय-पत्रलाई प्रमाणको रुपमा लिन सकिने बताउन थालिसकेका थिए।

बाधक

प्रमुख निर्वाचन आयुक्त उप्रेती अव भने चुनाव अघि नै परिचय-पत्र मतदाताको हातहातमा पुर्‍याउन सकिने विश्वासमा देखिन्छन्।

उनी भन्छन्, “चुनावमा परिचालित सुरक्षाकर्मी र कर्मचारीहरु मार्फत परिचय-पत्र मतदाता समक्ष पुर्‍याउने योजना अनुसार अघि बढेका छौं।”

चुनावमा करिव चार लाख सुरक्षाकर्मी र निर्वाचन कर्मचारी परिचालित छन्।

तर छापेको दुई हप्ताभित्र उनीहरु मार्फत परिचय-पत्र पुर्‍याउने आयोगको योजनामा चुनाव वहिष्कारको अभियानमा लागेका दल र संगठनहरु बाधक हुनसक्ने ठानिएको छ। Source BBC

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us