बङ्गलादेशमा गतिरोध अन्त्यको प्रयास, विपक्षीसँग वार्ता गर्ने

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते १४:४० मा प्रकाशित

ढाका, ९ कात्तिक– बङ्गलादेशमा हाल जारी रहेको राजनीतिक गतिरोधको अन्त्यका लागि प्रयास सुरु गरिने भएको छ । सो प्रयासस्वरुप प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग वार्ता गर्ने भएको बताइएको छ ।

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले सो प्रयासस्वरुप विपक्षी नेत्री खालिदा जियासँग फोनवार्ता गर्ने भएको समाचारमा जनाइएको छ । उनले विपक्षी नेत्रीसँग शनिबार अबेरतिर फोनवार्ताको प्रयास गरेका प्रधानमन्त्रीको कार्यालयका एकजना सहयोगीले बताएका छन् ।

प्रधानमन्त्रीको कार्यालयका एकजना सहयोगी महाबुल हक साकिलले उनीहरुबीच शनिबार अबेरतिर फोनवार्ताको समय मिलाइएको जानकारी दिएका छन् । सो समाचारको विपक्षी दलकी नेत्री जियाका प्रवक्ता मारुख कमल खानले पनि पुष्टि गरेको बङ्गलादेशको राजधानी ढाकाबाट फ्रान्सेली समाचार समिति एएफपीका समाचारदाताले जनाएका छन् ।

बङ्गलादेशमा हालैका दिनमा राजनीतिक सङ्कट गहिरिएको छ । विपक्षी दलका नेताहरुले विगत लामो समयदेखि सरकारको विरोधमा आन्दोलन गरिरहेका छन् । बङ्गलादेशमा सन् १९७१ मा स्वतन्त्रताको समयमा भएको भनिएको युद्ध अपराधका घटनामा दोषी पाइएको भन्दै अदालतले विपक्षी दलका नेताहरुलाई जेल तथा मृत्युदण्डको सजाय सुनाइरहेको छ ।

सो कारबाहीको विरोधमा विपक्षी दलहरुले पनि लामो समयदेखि सरकार विरोधी आन्दोलनलाई चर्काइरहेका छन् । यो राजनीतिक गतिरोधका कारण आगामी निर्वाचन पनि अवरुद्ध हुनसक्ने भन्दै सो चुनावी वातावरणका लागि प्रधानमन्त्री र विपक्षी नेताका बीचमा यो वार्ता हुन लागेको हो । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us