भारतका ८८ करोड जनतासँग भएको फोन प्रधानमन्त्री सिंहसँग छैन

काठमाण्डु टुडे २०७० कार्तिक ९ गते २:२६ मा प्रकाशित

नयाँ दिल्ली–भारतका ८१ वर्षीय प्रधानमन्त्री मनमोहन सिंहसँग मोबाइल फोन छैन र उनले व्यक्तिगत इमेल पनि प्रयोग गरेका छैनन । त्यसैले उनलाई मोबाइल रेकर्ड होला र इमेल ह्याक होला भन्ने चिन्ता पनि छैन ।Manmohan-Singh
त्यसो त भारतमा गत दशकमा मोबाइल फोनको प्रयोग व्यापक भएको छ र दूरसञ्चारका राष्ट्रिय नियमक संस्थाले दिएको जानकारी अनुसार एक अर्ब २० करोड जनसङ्ख्या भएको यस मुलुकमा ८७ करोड ६० लाख फोन छन् ।
गार्जियन समाचारपत्रले शुक्रबार अमेरिकी गुप्तचरहरूले विश्वका ३५ मुलुकका नेताहरूको फोन वार्ता सुनेको र उनीहरूलाई यी नम्बर ह्वाइट हाउस, पेन्टागन तथा विदेश मन्त्रालयका अधिकारीले उपलब्ध गराएको समाचार दिएको छ ।
यी जानकारी गोप्य सूचना चुहाउने एडवर्ड स्नोडनले उपलब्ध गराएका कागजातमा देखिएको हो र जर्मन चान्सलर एङ्गेला मर्केलको सञ्चार पनि यसको लक्ष्य भएकाले उनी समेत क्रुद्ध छिन । भारतीय प्रधानमन्त्री मनमोहन सिंह यस्तो ह्याकबाट चिन्तित छैनन त भन्ने प्रश्नमा उनका प्रवक्ताले प्रधानमन्त्रीले मोबाइल फोन प्रयोग नगर्ने र उनको इमेल ठेगाना पनि नभएको बताए ।
प्रवक्ताले प्रधानमन्त्रीको कार्यालयले इमेल प्रयोग गर्ने तर उनको व्यक्तिगत इमेल नभएको बताए । उनले आफूहरूलाई यस विषयमा जानकारी नभएको र यसमा चिन्ता पनि गर्नु नपरेको बताए ।
सञ्चार उद्योग नै प्रधानमन्त्री सिंहको प्रशासनले भोगेको भ्रष्टाचार काण्डका आरोपको प्रमुख स्रोत पनि बनेको छ । सन् २००८ को एक काण्डबाट मुक्त हुन पूर्व दूरसञ्चारमन्त्री ए.राजा निकै प्रयास गर्दै छन ।
भारत आरम्भमा अमेरिकी सुरक्षा संस्थाले गरेको गुप्तचरीको प्रभावका विषयमा सकारात्मक देखिएको थियो र उसले यस संस्थाले उपलब्ध गराएको सूचनाका कारण आतङ्कवादी क्रियाकलाप रोक्न र मानिसको जीवन जोगाउन सकिएको बताएको थियो ।
तर भारतीय दूतावास तथा उसका न्यु योर्कस्थित संयुक्त राष्ट्र सङ्घको नियोगका कम्प्युटर तथा टेलिफोन ह्याक भएको आरोप लागेपछि भने भारतले वासिङटनसँग यस विषयमा स्पष्टीकरण लिने बताएको छ । रासस/एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us