
ताप्लेजुङ, ८ कात्तिक– मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र संघीय लिम्बुवान राज्य परिषद्का कार्यकर्ताले एकीकृत माओवादी ताप्लेजुङ–१ का उम्मेद्वार सञ्चपाल मादेनमाथि सांघातिक आक्रमण गरेका छन् ।
शुक्रबार बिहान ३ बजे जिल्लाको मेले–२ मा सुतिरहेका बेला सुरक्षामा रहेका प्रहरीलाई नियन्त्रणमा लिएर वैद्य र लिम्बुवान कार्यकर्ताले उम्मेदवार र चुनावी अभियानमा रहेका एमाओवादी कार्यकर्तामाथि आक्रमण गरेका हुन् ।
आक्रमणबाट उम्मेद्वार मादेनसहित एमाओवादीका करिब एक दर्जन कार्यकर्ता घाइते भएका छन् । आक्रमणलगत्तै आक्रमणकारी समूह भागेको एमाओवादी ताप्लेजुङ जिल्ला कार्यालय सचिव सागरमणि गौतमले जानकारी दिए ।
गौतमका अनुसार मादेनको अवस्था गम्भीर छ । मादेनको सुरक्षाका लागि सरकारले पाँच जना प्रहरी खटाएको थियो ।