भारत र पाकिस्तान युद्ध रोक्न सहमत

काठमाण्डु टुडे २०७० असोज १४ गते २:४९ मा प्रकाशित

काठमाण्डु, १४ असोज– भारत र पाकिस्तान सीमारेखामा युद्धविराम गर्न सहमत भएका छन् । भारतीय प्रधानमन्त्री मनमोहन सिंह र पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफबीच अमेरिकाको न्युयोर्कमा भएको भेटवार्तामा कश्मिरस्थित दुई देशको सिमानामा रहेको नियन्त्रण रेखामा पुनः युद्ध विराम लागु गर्ने सहमति भएको हो ।

दुई देशबीचको बैठक सार्थक र सकारात्मक भएको भारतले जनाएको छ । तर अर्को चरणको वार्ताको लागि सीमामा गरिने संंघर्ष विरामको पाकिस्तानले उलंघन गर्न नहुने भारतले जनाएको छ ।

दुवै देशका सरकार प्रमुख संयुक्त राष्ट्र संघ महासभामा सहभागी हुन न्युयोर्कमा रहेकाबेला भेटवार्ता भएको हो । भेटमा भारतीय प्रधानमन्त्रीले सिमा पारिबाट भारतीय भुमिमा आतंकवादी गतिविधि हुने गरेको भन्दै पाकिस्तानी प्रधानमन्त्री समक्ष यस्तो गतिविधि अन्त्य गर्न आह्वान गरेको भारतीय पक्षले जनाएका छन् । यसअघि पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको कश्मिर मामिलामा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा छलफल गराउने भन्ने प्रस्ताव भारतीय प्रधानमन्त्रीले अस्वीकार गरेका थिए ।

भारतले भारतमा हुने विभिन्न खालका आतंकवादी गतिविधिमा पाकिस्तानको हात रहेको आरोप लगाउने गरेको छ भने पाकिस्तानले पनि बलुचिश्तान लगायतका ठाउँमा हुने आतंकवादी गतिविधिमा भारतको हात रहेको आरोप लगाउने गरेको छ । भेटमा पाकिस्तानले सियाचिन र सर क्रिको समेत जिकीर गरेको जनाईएको छ । पाकिस्तानका विदेश सचिव जलि अब्बासले भेटमा कश्मिरदेखि बलुचिस्तानसम्म सबै विषयमा छलफल भएको बताए ।

पाकिस्तानमा नवाज शरीफ प्रधानमन्त्रीमा निर्वाचित भएयता दुई देशका शीर्ष नेताहरुबीचको यो पहिलो भेट हो । दुई देशका नेताहरुको यो पूर्व निर्धारित भेट भारत अधिनस्त काश्मिरमा प्रहरी क्याम्प र सैनिक शिविरमा आतंकवादी हमला भएपछि अन्यौलमा परेको थियो । भारतको विपक्षि भारतीय जनता पार्टीले आतंकवादी आक्रमण पछि पनि पाकिस्तानी नेतासँग भेटको कुनै औचित्य नरहेको जनाउँदै भेटको विरोध गर्दै आएको थियो । तर भारतीय सत्तापक्षले भने हुन लागेको वार्ता भाँड्न यस्तो आतंकवादी हमला भएको हुनसक्ने जनाउँदै वार्तामा बस्ने प्रतिवद्धता जनाएको थियो । भेटका क्रमा दुवै देशका नेताले एकअर्का देशका नेतालाई आ–आफ्नो देश भ्रमणको निम्तो समेत दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us