काठमाण्डु, ४ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहाल तरकारी खेती तथा माछा र खुकुरा पालनमा लागेका छन् ।
प्रकाशले लाजिम्पाटस्थित निवास पछाडि खाली रहेको जग्गामा डेड वर्षदेखि तरकारी खेती गर्दै आएको बताए ।
उनले नयाँबजारबाट लाजिम्पाट सरेपछि आफूहरुले हरियो तरकारी किनेर नखाएको जानकारी दिए । उनले उत्पादित तरकारी बेच्नका लागि नभई घरायसी प्रयोजनका लागि भएको उल्लेख गरे । प्रकाशका अनुसार करेसाबारीमा फलेको तरकारी प्रचण्डको सचिवालयका साथै सुरक्षाकर्मीको भान्छामा समेत पुग्ने गरेको छ । ‘नयाँबजारबाट यहाँ डेरा सरेपछि हामीले हरियो तरकारी किन्नु परेको छैन’, प्रकाशले काठमाण्डु टुडेसँग भने, ‘ तर यो व्यवसायिक तवरले गरिएको खेती होइन, तरकारी सचिवालय र सुरक्षाकर्मीले बाँडेर खाने गरेका छौं ।’ आफैंले तरकारी खेती गर्न थालेपछि सचिवालयको खर्चसमेत केही घटेको भनाइ उनको छ ।
आफ्नो करेसाबारीमा करेला, घिरौंला, लौका, कर्कलो, रामतोरिया तथा सागजस्ता हरियो तरकारी रोपिएको प्रकाशले बताए । तरकारी बारीमा काम गर्ने आफूले आमा सीतालाई सघाउने गरेको उनले जनाए । तरकारी खेती सफल भएपछि कुखुरा र माछा पालनमा रुची जागेको जानकारी उनले दिए । ‘तरकारी खेती सफल भएकाले कुखुरा र माछा पालन गर्ने लागेको हुँ’ प्रकाशले भने । उनले दुई महिनाअघि काभ्रेको नवबुद्धबाट ल्याएको तीनवटा लोकल कुखुराले चल्ला कोरलेर २१ वटा पुगेको बताए । ‘तीनवटा पोथी र एउटा भाले ल्याएका थियौ’, प्रकाशले भने, ‘त्यसले १८ वटा चल्ला कोरल्यो, अहिले २१ वटा छ ।’
तरकारी नष्ट गर्ने भएकाले कुखुरा खोरमै थुनेर पाल्ने गरिएको जानकारी उनले दिए । प्रकाशले घर पछाडि रहेको पोखरीमा माछा पाल्ने तयारी गरेका छन् । त्यसका लागि शुक्रबार पोखरी सफा गरिएको जानकारी उनले दिए । विज्ञसँग परामर्श गरेर हावापानी अनूकुलको माछा पाल्ने प्रकाशले बताए । विज्ञले सिफारिस गरे कत्लाजातका माछा पाल्ने सोच रहेको उनले जानकारी दिए ।
सुरुमा २ सयवटा माछामा भुरा राख्ने र राम्रो भए पछि विस्तार गर्ने सोच प्रकाशले बनाएका छन् । ‘विज्ञसँग सल्लाह गर्दैछु । पहिला दुई सयवटा भुरा पालेर हेर्छु, राम्रो भयो भने अरु विस्तार गर्ने सोचमा छु’ उनले भने । उनले शनिबार पोखरीमा भुरा राख्ने गरी तयारी भएको जानकारी दिए । प्रकाशले चितवनको शिवनगरस्थित पुख्र्यौली घरमा पनि आफूहरुले खेतीपातीको काम गर्ने गरेको सम्झिए । ‘हामी किसान परिवारका मान्छे हौं, प्रकाशले भने, ‘चितवनमा हुँदा खेतीको काममा सघाउने गर्थें ।’ खेतीपातीको काम गर्दा आत्मसन्तुष्टि हुने भए पनि पार्टीको काममा व्यस्त हुने गरेका कारण बढी समय दिन नसकिएको प्रकाशले उल्लेख गरे ।
युवा पुस्तालाई खेतीपातीप्रति आकर्षित गर्ने उद्देश्यका साथ आफूले सामूहिक खेतीका लागि विज्ञसँग पराशर्म गरिरहेको जानकारी पनि उनले दिए । ‘हेटौंडा महाधिवेशनको उत्पादन कार्यदिशा कार्यान्वय र कामको खोजीमा विदेश पलायनको तयारीमा रहेका युवा पुस्तालाई खेतीपातीप्रति आकर्षित गर्न सामूहिक खेतीको काम गर्दैछु’ ‘उनले भने, त्यसका लागि विज्ञहरुसँग परामर्श गरिरहेको छु ।’