पिसिआर रिपोर्टसँगै भाइरल लोडको समेत जानकारी दिइने

काठमाण्डु टुडे २०७७ असोज १ गते ७:५५ मा प्रकाशित

काठमाण्डु, १ असोज– सरकारले अन्ततः आरटी पिसिआर रिपोर्ट दिँदा भाइरल लोडको समेत जानकारी दिने भएको छ । हालसम्म यो विधिअन्तर्गत परीक्षण गरेपछि पोजेटिभ वा नेगेटिभ भनेर नतिजा दिइन्थ्यो, संक्रमितमा भाइरसको मात्रा कति छ भन्ने तथ्य रिपोर्टमा उल्लेख गरिँदैनथ्याे । प्राविधिक रुपमा भाइरल लोडलाई साइकल थ्रेसहोल्ड (सिटी) ‘भ्यालु’ को रुपमा मापन गरिन्छ ।

‘अबदेखि आइटी पिसिआर परीक्षण नतिजा दिँदा सिटी भ्यालुसमेत उल्लेख गरेर दिन प्रयोगशालालाई सूचना गरेका छौं,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित पत्रकार सम्मेलनमा भने । विज्ञका अनुसार कोरोना पोजेटिभमा भाइरल लोड बढी अथवा कम रहेको सूचना विभिन्न हिसाबले उपयोगी मानिन्छ ।

यो ‘भ्यालु’ ले संक्रमितमा भाइरसको उपस्थितिको मात्रा थाहा हुने भएकाले संक्रमणको अवस्था र उपचारका लागि आवश्यक क्लिनिकल निर्णय लिन सहयोग पुग्छ। यसले सबैभन्दा बढी संक्रामक ‘सुपर स्प्रेडर’ लाई पहिचान गरेर महामारी नियन्त्रण गर्न पनि सहयोग गर्छ ।

नेपालका सबै प्रयोगशालाले आरटी पिसिआर परीक्षण गर्दा यो तथ्यांक स्वतः आउँछ । तर यसअघि यो सूचना सरकारी कार्यालय र प्रयोगशालाका ‘लग बुक र मेसिन’ मा मात्र सीमित थियो। बिरामीको उपचार र अनुसन्धानमा यसको खास उपयोग भएको थिएन । ‘सिटी भ्यालुको उल्लेख गर्दा आरटी पिसिआरको विश्वसनियता बढ्छ र यो धेरै हिसाबले उपयोगी छ,’ प्रवक्ता गौतमले नागरिकसँग भने।

अन्तर्राष्ट्रिय रुपमा सामान्यतया ३५ अंकभन्दा माथि रहे कम भाइरल लोड र ३५ भन्दा जति कम हुँदै गयो त्यति नै बढी भाइरल लोड भएको मानिन्छ । अन्तर्राष्ट्रिय रुपमा ‘स्ट्यान्डर्ड टेष्ट’ मानिएको आरटी पिसिआरले संक्रमितको पहिचान गरे पनि वास्तवमा ती संक्रमितले तुलनात्मक रुपमा फरकफरक हिसाबले भाइरसको प्रसारण गर्छन् भन्ने मानिँदै आएको छ ।  नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us