मोदीले भेट्न नमानेपछि कमल थापालाई टेन्सन

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते १४:३४ मा प्रकाशित

Kamal-Thapaकाठमाण्डु, ११ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न इन्कार गरेका छन् ।
सार्क सम्मेलनमा सहभागी हुन आएका बेला मोदीले भेट्ने भन्दै थापासहित राप्रपा नेपालका नेता हौसिएका थिए । बिहीबार दुईपटकसम्म मोदीको सचिवालयले भेटघाटका लागि समय तय गरे पनि मोदीले भेट्न मानेनन् ।

अध्यक्ष थापा सह–अध्यक्ष केशरबहादुर बिष्ट, नेता टंक ढकाल, सभासद् रामकुमार सुब्बासहित ६ जनाको टोली लिएर बिहान ८ बजे नै मोदी बसेको सोल्टी होटल पुगेका थिए ।

तर, मोदीले नभेट्ने भन्दै उनका सुरक्षा सल्लाहकारले फिर्ता गरिदिए । कमल थापालाई सोल्टीबाट बिदा गरेको करिब एक घण्टापछि मोदीले रिट्रिटका लागि धुलिखेल जान सोल्टी होटल छाडे ।

बीचको एक घण्टा मोदी आराम गरेर बसे । तर उनका सुरक्षा सल्लाहकारले समय नभएको भन्दै थापाको टोलीलाई फर्काइदिए । उनले भेटका बिहीबारै साँझ ५ बजेको समय दिए ।

बिहान भेट्न नपाएर दिनभर तनावमा परेका थापा कहिले पाँच बज्ला भनेर दिनभर घडी हेरर बसे । तर दिउँसो ३ बजेतिर भारतीय दूतावासले टेलिफोन गरेर मोदीले भेट्न नसक्ने जानकारी थापालाई दियाे ।

‘हामी भेट्न सोल्टी होटल पुगेका हौं’, ढकालले काठमाण्डु छुडेसँग बिहीबार राति भने, ‘तर व्यस्तताका कारण उहाँले भेट्न सक्नुभएन ।’

मोदीले आफूहरुलाई भेट्न अस्वीकार गरेर हिन्दूवादको एजेण्डामा आफ्नो रुची नभएको संकेत देखाएका हुन् ? भन्ने प्रश्नमा ढकालले भने, ‘उहाँले अस्वीकार गरेको अर्थमा यसलाई बुझ्न मिल्दैन, उहाँको हाम्रो एजेण्डाप्रति हिजैदखि समर्थन छ र रहिरहन्छ, समय नपुगेर यस्तो भएको हो ।’

भरतीय संस्थापनसमेत हिन्दू राष्ट्रको पक्षमा रहेको भन्दै हौसिएका बेला मोदीले भेट नदिएपछि राप्रपा नेपालमा हल्लीखल्ली मच्चिएको छ ।

नेपाल बसाइका क्रममा मोदीले सत्तारुढ काँग्रेस–एमाले र विपक्षी एमाओवादी तथा मधेसी मोर्चाका नेतालाई सोल्टी होटलमा छुट्टाछुट्टै भेटेका दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us