
काठमाण्डु, १० मंसिर– सार्क शिखर सम्मेलनमा भाग लिन आएका भुटानी प्रधानमन्त्री छिरिङ तोग्बेलाई पशुपतिनाथको मन्दिर भ्रमणका क्रममा नेपाली बटुकले पाठ गरेको वैदिक स्वस्तिवाचनले लोभ्याएको छ । मंगलबार साँझ पशुपतिनाथ मन्दिर पुगेका छिरिङलाई नेपाल वेद विद्याश्रमका एक सय आठ बटुकले स्वस्तिवाचन गरेर स्वागत गरेका थिए ।
बिहान साढे ११ बजे काठमाण्डु ओर्लिएका उनी स्वयम्भू र बौद्ध पुगेर साँझ ५.३० बजे पशुपतिनाथ पुगेका थिए । बटुकको स्वस्तिवाचन र हाउभाउ हेर्दै छिरिङले करिब ५ मिनेट बिताए । मन्दिरबाहिर निस्किएपछि गाडी चढ्न लाग्दा उनले बटुकसँग फोटो खिच्ने इच्छा ब्यक्त गरे ।
छिरिङसँगै रहेका पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले भने, ‘उहाँलाई बटुकको शैली र स्वस्तिवाचनले लोभ्यायो ।’
बटुक सुशान्त आचार्यले भुटानी प्रधानमन्त्रीसँगको भेटघाट र सामीप्यले खुसी बनाएको बताए । उनले भने ‘हाम्रो पढाइको महत्त्व रहेछ, सँगै फोटो खिच्नु भयो, यो हाम्रो अहोभाग्य हो ।’ छिरिङले वासुकी मन्दिरमा आफै आरती गरेका थिए । गुप्तेश्वर दर्शनका क्रममा उनले भने ‘जय शम्भो †’ त्यसपछि उनले नारायण, गणेश, सूर्यनारायण, सरस्वती र भैरवलाई फूल चढाएर प्रसाद ग्रहण गरे ।
अन्नपूर्णपोस्ट दैनिकबाट