बुहारीको हत्या गर्ने ससुरा पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर ९ गते २:५२ मा प्रकाशित

महाेत्तरी, ९ मंसिर– आफ्नै बुहारीलाई हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रतौली गाविस–६ बस्ने ५४ वर्षीय जीबछ मण्डल रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

गत साउन ८ गते राति आफ्नै नवविवाहिता बुहारी मिन्टुदेवी मण्डललाई मोटरसाइकल र गोदरेज दाइजोमा नल्याएको भन्दै छोरा, श्रीमती, छोरी र ज्वाइसमेतको मिलेमतोमा हत्या गरेका थिए । मृतकका काका रामदेव मण्डलले कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि ससुरा जीबछ मण्डललाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए ।

आफ्नी भतिजी मिन्टुलाई पति रञ्जित मण्डल, ससुरा जीबछ, सासू, नन्द र नन्दको श्रीमान् सन्तोष मण्डलसहित परिवारका सदस्यहरु मिलेर हत्या गरेको आरोप उनका काका रामदेवको छ ।

सो घटनामा संलग्न अन्य फरार अभियुक्तहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । मिन्टुको शव हत्या गरिएको अवस्थामा घरभन्दा सय मिटर पश्चिममा आँपको रूखमा झुन्ड्याइएको अवस्थामा फेला परेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us