झापा, १ मङ्सिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत नेकपा (माओवादी) ले संविधान सभा असफल बनाएर सत्ता कब्जा गर्न खोजेको बताएका छन् ।
एमालेको इलाम जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रमका लागि झापा आइपुगेका ओलीले भने, ‘तर, सत्ता कब्जा गर्ने एमाओवादी रणनीतिलाई असफल बनाएर नेपाली जनताको चाहना समेट्ने नयाँ संविधान निर्माण गर्न काँग्रेस एमाले प्रतिबद्ध छन् ।’
भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले संविधान निर्माणमा एकीकृत नेकपा(माओवादी)ले अवरोध खडा गरी जनतामा मस्यौदा जान नदिएको हुँदा त्यसको विरुद्धमा सत्ता पक्ष लागि परेको दाबी समेत गरे ।
उनले केही दल सहमत नभए पनि आउँदो माघ ८ गतेभित्र संविधान जारी हुने ठोकुवा समेत गरे । संविधान निर्माणका लागि गठित संवाद समितिका सभापति डा बाबुराम भट्टराईले एमाओवादीको विचार लादेर संविधानको मस्यौदा जनताका माझमा लान ढिलो गरेकोे आरोप लगाउँदै ओलीले समितिका सभापति देश र जनताको हुन नसकेको आरोप समेत लगाए ।
‘एमाओवादीले जनताको प्रतिनिधित्व बिर्सिएर सम्प्रदायको नेतृत्व गर्न खोज्दा देश द्वन्द्वतिर ढल्कँदै गरेको हो,’ ओलीले भने, ‘लोकतन्त्र मान्छु भन्नेले प्रक्रियालाई मान्दिन भन्नु अलोकतान्त्रिक व्यवहार हो, उद्दण्ड चरित्रले जनताको अधिकार सुरक्षित हुँदैन ।’
रासस