काठमाण्डु, २४ कात्तिक – मकवानपुरको बसामाडीमा गत कार्तिक १५ गते विहान भएको सवारी दुर्घटनावारे आफूलाई विनाकसुर एकपक्षीय ढंगले मुछेर समाचार सम्प्रेषित भएको भन्दै शूभश्री यातायातका सञ्चालक तथा पूर्व–पश्चिम यातायात व्यवसायी संघका अध्यक्ष नविन रेग्मीले आपत्ति जनाएका छन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै रेग्मीले बाहिर पत्रपत्रिकामा आए जस्तो आफू उक्त घटनामा संलग्नता नरहेको स्पष्ट पार्दै घटना हुँदा समेत आफू उक्त गाडीमा नरहेको जिकिर गरेका छन् ।
रेग्मीले भने–‘ घटना भएकोवारे जसरी समाचार सम्प्रेषण भयो, सो दिन म काठमाण्डुमा नै थिएँ । मैले उक्त घटनाको जानकारी टेलिफोन मार्फत पाएको थिएँ, सो दिनभरी नै म प्रहरी प्रशासन लगायत सबैसँग सम्पर्क मै थिएँ तर बाहिर मलाई उक्त घटनमा मुछ्ने काम गरियो यसमा मेरो घोर आपत्ति छ । ’
रेग्मीले उक्त घट्नामा आफूलाई मुछेर नैतिक, सामाजिक तथा व्यवसायिक चरित्र हत्या गर्ने काम भएको भन्दै उक्त घटनाको सत्यतथ्य रुपमा छानविन तथा अनुशन्धान हुनुपर्ने समेत माग गरेका छन् ।
उनले आफू निर्दोष भएको भन्दै निर्दोषिताको प्रमाण समेत पेश गर्ने उल्लेख गरेका छन् ।
त्यस्तै यातायात व्यवसायी महासंघका अध्यक्ष विष्णु शिवाकोटीले उक्त घटना हुँदा रेग्मी महासंघकै बैठकमा भएको तर्क गर्दै प्रमाण चाहिएको खण्डमा आफूहरु पेश गर्न समेत तयार रहेको स्पष्ट पारेका छन् ।
शिवाकोटीले सरकारले कारवाहीको नाममा व्यवसायीहरुलाई दुख दिन थालेको भन्दै उक्त कार्य तत्काल रोकिनुपर्ने माग गरेका छन् ।
उनले भने–‘घटना भएको दिन नविन जी हामीसँग सर्वोच्च महासंघकै बैठकमा हुनुहुन्थ्यो, बैठकमा भएको मान्छे उक्त घटनामा सामेल थिए भनेर समाचार आएकोमा हामीलाई आश्चर्य लागेको छ ।’’