काठमाण्डु, २३ कात्तिक– तराई मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेस सभासदहरुले एमालेसँगको साझा सहमतिमा पार्टी नेतृत्वले ल्याएको सात प्रदेशको प्रस्ताव मान्य नहुने बताएका छन् ।
उनीहरुले उक्त प्रस्ताव फिर्ता लिन पनि नेतृत्वलाई दबाब दिएका छन् । केन्द्रीय सदस्यसमेत रहेका फर्मुल्लाह मन्सुर र अमरेशकुमार नेतृत्वको टोलीले शीर्ष नेतालाई भेटेर प्रस्ताव फिर्ता नलिए राम्रो नहुने चेतावनीुसहित हस्ताक्षर अभियान बुझाएका हुन् ।
बालुवाटारमा आइतबार भएको भेटमा प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवालगायत थिए ।
‘यो प्रस्ताव मधेसविरोधी छ’, सिंहले भने, ‘पार्टीको पूर्वनिर्णय विपरीत आएको यो प्रस्ताव फिर्ता नलिए परिणाम राम्रो नआउन सक्छ ।’ उनले मधेसबाट तीन नदी अलग गर्ने बदनियताका साथ आएको प्रस्ताव स्वीकार गर्न नसकिने बताए ।
सिंहले मधेसमा तीन प्रदेश बनाउनुपर्ने आफूहरुको माग रहेको जनाए । सिंहका अनुसार एमालेसँग मिलेर प्रस्ताव ल्याउनुअघि पार्टीभित्र छलफल नगरेकामा शीर्ष नेतृत्वले गल्ती महसुस गरेका छन् ।
काँग्रेस नेताहरुले प्रस्तावमा लचिलो हुन सक्ने पनि जनाएको मन्सुरले जानकारी दिए ।