पोखरा, २३ कात्तिक – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउन सक्ने भन्दै हिमाली जिल्ला मुस्ताङमा पनि स्थानीय प्रशासनले सुरक्षा व्यवस्थाको तयारी गरेको छ । केही दिनदेखि तराईका जिल्लामा मोदीको सुरक्षा तयारी भइरहेको समाचार आइरहेका बेला हिमाली जिल्लामा पनि तयारी भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले बताए ।
आउँदो १८औं सार्क शिखर सम्मेलनमा सहभागी हुने क्रममा मोदी मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले एकीकृत सुरक्षा योजना बनाएको हो । भण्डारीले जिल्लाका सबै सुरक्षा निकायबीच समन्वय गरी मोदीको भ्रमणलाई सफल पार्न नियमित बैठक बस्ने गरेको बताएका छन् ।
अन्य जिल्लामा भन्दा मुस्ताङमा शान्ति सुरक्षा सामान्य भएको उल्लेख गर्दै प्रहरी नायब उपरीक्षक गोविन्द पाठकले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा व्यवस्था सुदृढ बनाएको बताए ।
रासस