चितवनमा बस दुर्घटना, २४ घाइते

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते ९:२४ मा प्रकाशित

चितवन, २३ कात्तिक – चितवनको भरतपुरमा आज बिहान सवारी दुर्घटना हुँदा २४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बस तीव्रगतिमा रहेका कारण दुर्घटना भएको प्रहरीले आशङ्का गरेको छ । नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको ना४ख ५६६० नम्बरको बस चितवनको भरतपुरस्थित आँपटारीमा आज अनियन्त्रित भई पल्टिँदा सो दुर्घटना भएको हो ।

घाइतेहरुको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।  बस र चालकलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसैबीच, चितवनमा प्रहरीले अहिले गति नाप्ने यन्त्रको प्रयोग गरेर चालकलाई कारबाही थालेको छ ।

गति बढी भए पक्राउ गरी कारबाही गर्न थालिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला भएर चल्ने सवारीहरु अत्यधिक गतिका कारण दुर्घटना हुने गरेको भन्दै प्रहरीले यस्तो अभियान चलाएको हो ।

अभियान चलाए पनि तीव्रगतिमा सवारी चलाउने क्रम भने रोकिएको छैन ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us