भीमदत्तनगर, २३ कात्तिक – कन्चनपुर जिल्लामा प्राकृतिक प्रकोपले कृषि तथा पशुपालनका क्षेत्रमा मात्रै पाँच करोड रुपैंयाभन्दा बढीको क्षति पुर्याएको छ ।
जिल्लामा यस वर्ष बाढी पहिरो, चट्याङलगायतका प्रकोपबाट पशुपालनतर्फ सबैभन्दा बढी क्षति भएको जिल्ला पशुसेवा कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला पशुसेवा कार्यालयले सङ्कलन गरेको विवरणअनुसार पशुपालनतर्फ पाँच करोड २० लाख रुपैंया बराबरको क्षति भएको छ ।
यसैगरी, कृषितर्फ रु १२ लाख ५० हजारबराबरको क्षति भएको कार्यालयले जनाएको छ । यस वर्ष आएको बाढी तथा पहिरोले मात्र २९ घरधुरीको १२९ रोपनी जमिनमा क्षति भएको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
लगातारको असिनासँगैको वर्षा, खेतबारीमा रोगको प्रकोप र चट्याङलगायतका कारणले कृषि र पशुपालन क्षेत्रमा ठूलो क्षति भएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख वसन्तबहादुर सिंहले जानकारी दिएका छन् ।
जिल्लाको दुर्गम ठाउँमा रहेका घरपालुवा पशुहरुमा विभिन्नखालका रोगको सङ्क्रमण हुने र मर्ने गरेका कारण पनि पशुपालन क्षेत्रमा कमी आएको सिंहले बताए । यसरी पशुपालन क्षेत्रमा लगाएको लगानीसमेत नउठ्ने भएकाले पनि अहिले सुदूरपश्चिमका पशुपालक किसानको यस पेसाप्रतिको आकर्षण घट्दै गएको छ ।
गएको वर्षमात्र गाईभैँसीलगायतका पशुहरुमा लागेको खोरेत रोगका कारण पनि दार्चुला, बैतडी र डडेल्धुरालगायतका जिल्लामा धेरै पशु मरेका थिए ।
यसैबीच, जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले प्राकृतिक प्रकोप पीडितहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक बजेट सिफारिस गर्ने निर्णय गरेको छ ।
जिल्ला पशु सेवा कार्यालयले तयार पारेको उक्त क्षति रकम उपलब्ध गराउन सम्बन्धित कार्यालयका विभागमा समेत सिफारिस गरिएको छ ।
रासस