काठमाण्डु, २३ कात्तिक– बालुवाटारको उपहार मार्गसम्मको मूल सडक धुलाम्मे छ ।
गत चैतमा विस्तारका लागि भत्काइएको यो सडकनजिकै एउटा सहायक मार्ग भर्खरै कालोपत्र गरिएको छ । करिब २५ मिटर लामो कालोपत्रे गरिएको त्यो मार्ग सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालको घरको दैलोमा गएर टुंगिन्छ ।
मुल सडकको बायाँतर्फबाट ६० मिटर दूरीमा अर्को सहायक मार्ग आउँछ । करिब ३० मिटर कालोपत्रे गरिएको त्यो बाटो संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्को घरको दैलोमा टुंगिन्छ,
मुल सडक छलेर नेताद्वय नेम्वाङ् र रिजालको दैलोसम्म पुगेर टुंगिने सडक गत बिहीबार महानगरपालिकाले कालोपत्र गरिदिएको हो । उपहारमार्ग आसपासका बासिन्दाका अनुसार उनीहरुले ठेकेदार कृष्णप्रसाद चौलागाइँलाई मूल सडक पनि कालोपत्रे गर्न आग्रह गर्दा उनले ‘हामीलाई यतिमात्रै कालोपत्रे गर्नु भन्ने माथिको आदेश छ’ भनेका थिए ।