चितवन , २२ कात्तिक – भारतबाट गाडी तस्करी गरी नेपालका विभिन्न जिल्लामा बिक्री गरेको आरोपमा एक भारतीयसहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।
गाडी तस्करीको आरोपमा भारत गोरखपुर थाना बस्ने ३४ वर्षका गुड्डु भनिने मोहम्मद आलमसहित अन्य दुई नेपालीलाई पक्राउ गरिएको चितवनका प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार गुड्डु भने मुख्य नाइके छन् । उनीहरुबाट नगद रकमसमेत बरामद गरिएको छ । विशेष सुराकीको आधारमा चितवनका प्रहरी प्रमुख थापाको नेतृत्वमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।
गुड्डुका साथबाट एक लाख ३३ हजारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले गाडी ल्याएर नम्बर प्लेट फेर्ने र गाडी नम्बरसमेत परिवर्तन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
सोही क्रममा जयमङ्गला निवासी ३३ वर्षीय दिपेन्द्र श्रेष्ठ र चितवन जगतपुरका आश्विन श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ । रासस