काठमाण्डु, २२ कात्तिक – बौद्ध क्षेत्रका मासु व्यवसायीले सार्वजनिक सडकमा राँगा, भैंसीको वध गरी विरोध जनाउने चेतावनी दिएका छन् ।
वधशाला निर्माणमा स्थानिय निकायको असहयोग विरूद्ध सङ्घर्षबारे जानकारी गराउन शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरि सङ्घर्ष समितिले सङ्घर्षबारे जानकारी गराउँदै चेतावनी दिएको हो ।
हाल सो क्षेत्रमा सञ्चालित वद्यशाला मापदण्ड अनुसार नभएको भन्दै काठमाडौं महानगरपालिकाले विगत ११ दिनदेखि तालावन्दी गरेको र आधुनिक वद्यशाला निर्माणमा पनि सहयोग नगरेकोले मासु व्यवसायीहरू वाध्य भएर सो कदम चाल्न वाध्य भएको सङ्घर्ष समितिका संयोजक रामकृष्ण खड्गीले बताए ।
आधुनिक बधशाला निर्माण गरी स्वास्थकर मासु उपलब्ध गराउने प्रतिवद्धताका साथ बौद्धजोरपाटी क्षेत्रमा नमुना बधशाला निर्माण गर्न बैकल्पिक जग्गाको प्रबन्ध गरेपनि आवश्यक सहयोग नगरी व्यवसायीलाई काम गरी खान नदिएकोले विरोध जनाउने तयारी गरेको संयोजक खड्गीको भनाई छ ।
कार्यक्रममा सभासद राज्यलक्ष्मी श्रेष्ठले परम्परागत पेशालाई सुधार गरेर अगाडि बढाउन सहयोग गर्नुपर्छ भन्दै व्यवसाय नै ठप्प पार्ने अधिकार कसैलाई नभएको बताईन् ।
श्रेष्ठले उक्त क्षेत्रको वधशाला व्यवस्थित पार्न र वैकल्पिक व्यवस्था गर्न अदालतले यस अघि नै परमादेश जारी गरेको अवस्थामा वैकल्पिक व्यवस्था नगरी व्यवसायीहरूलाई दुःख दिने काम भएको भन्दै यस कामको विरोध गर्न सबै तयार हुनुपर्ने धारणा राखेकी छिन् । त्यस्तै उनले व्यवसाय सुचारू गराउन आवश्यक पहलको जरूरी छ रहेको समेत प्रष्ट पारिन् ।
दशैं तिहार अगाडी बौद्धरामहिटी क्षेत्रमा सञ्चालित बधशाला व्यवस्थित नभएको भन्दै काठमाडौं महानगरपालिकाले देवनारायण खड्गी, गंंगापं्रसाद, रामकृष्ण खडगी लगायतका पाँच बधशालामा तालाबन्दी गरिएको थियो ।
आधु्निक वधशाला निर्माण लागि सुन्दरीजल, नयाँ पार्टी, साँखु र पुखुलाछीको जग्गा काठमाण्डु महानगरपालिका नगरप्रहरी प्रमुख धनपति सापकोटा, भेटनरी प्रमुख बोधप्रसाद अधिकारी, जनस्वस्थ प्रमुख नरेन्द्रबिलास शाक्य र व्यवसायी दुवै पक्षले अनुगमन गरी उचित ठहराएकोमा हाल वधशाला निर्माणमा राज्यले चासो नदेखाएको संयूक्त संघर्ष समितिले जनाएको छ ।
सो अवसरमा समितिद्वारा बधशाला निर्माणका लागि सरकारले छुटाएको बजेट तुरुन्त निकासा गर्नुपर्ने, बैकल्पिक बधशाला निर्माण नभएसम्म हाल संचालित बधस्थलको तालावन्धी खोल्नुपर्ने दीर्घकालिन रूपमा बधशालाको समस्या समाधानका लागि छुटटै बधशाला औद्योगिक क्षेत्रको घोषणा गर्नुपर्ने लगायतका पाँचबुदे मागको समेत घोषणा गरिएको थियो ।