काठमाण्डु, २१ कात्तिक – आसन्न १८ औं सार्क सम्मेलनको छेको पारेर काठमाण्ठु सहर नयाँ दुलही झै सिंगारिदै छ । त्यस्तै सुरक्षा निकाय भिआइपीको सुरक्षाका लागि रणनीति बनाउनमा व्यस्त छन् ।
सार्क सम्मेलनमा आउने पाहुनालाई अंग्रेजी भाषामा संबोधन गर्न सकुन् भन्नाका लागि निजी संस्थालाई भाडामा लिएर ट्राफिक प्रहरीलाई अंग्रेजी फरर बोल्न सिकाउने अर्को चटारो थपिएको छ ।
ट्राफिक प्रवक्ता बसन्त पन्तले पाहुना आउने रुटमा खटिने प्रहरीलाई भाषा सिकाउन लागेको प्रष्ट पारे ।
महिला र पुरुष गरेर १८ जना ट्राफिक प्रहरीलाई काठमाण्डुको अर्बिट इन्टरनेशनलले गत सोमबारदेखि भाषा सिकाइरहेको छ ।
भाषा प्रशिक्षणमा ट्राफिक प्रहरीलाई बोलीचालीको भाषा सिकाइने अर्बिटका भाषा प्रशिक्षकले जानकारी दिए । साथै व्यक्तित्व विकासको प्रशिक्षण पनि दिइने उल्लेख गरे ।
दैनिक एक घण्टाका दरले ८ दिनसम्म भाषा सिकाउने प्रहरीले जनाएको छ । प्रशिक्षणमा दुई असइसहित १८ जना प्रशिक्षार्थी रहेका छन् ।