बसको छतमा चढ्न नदिन सादा पोसाकका प्रहरी परिचालन

काठमाण्डु टुडे २०७१ कार्तिक २१ गते ५:२४ मा प्रकाशित

जाजरकोट, २१ कात्तिक– यात्रुलाई बसको छतमा चढ्न नदिन सादा पोसाकका प्रहरी परिचालन गरिएको छ ।
जिल्लामा हुने सडक दुर्घटना कम गर्न जिल्ला प्रहरीले कडाइका साथ छतमा चढ्न रोक लगाएको हो ।  राकम–खलङ्गा, खलङ्गा–रिम्ना र राकम–मोर्क सडकमा सञ्चालन हुने यातायातका साधनको छतमा चढ्न प्रतिबन्ध लगाएको प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताए ।
सडकको ५५ किलोमिटर दूरीमा सादा पोसाकका प्रहरी परिचालन गरिएको छ । जिल्लाबाट बाहिरिने र  भित्रिने गाडीका छतमा यात्रु बसाल्ने प्रचलन बढ्दै गएपछि यस्तो अभियान सुरु गरिएको मैनालीले बताए ।

जिल्लामा यातायात सञ्चालन हुने सडकमा जोखिमपूर्ण रुपले छतमा बसालेर यात्रा गर्ने गरेको जनगुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीको अध्यÔतामा व्यवसायी र सरोकारवालाको संयुक्त बैठक बसेको थियो । बैठकले छतमा यात्रु बसालेको पाइए कारबाही गर्ने निर्णय गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us