‘दिल्ली सत्तामा हामी फेरि आउनेछौं’– केजरीवाल

काठमाण्डु टुडे २०७१ कार्तिक २० गते १३:०३ मा प्रकाशित

एजेन्सी– सामाजिक कार्यकर्ताबाट राजनीतिमा आएर चर्चा बटुलेका अरविन्द केजरीवालले आफू फेरि दिल्लीको मुख्यमन्त्री भएर आउने दाबी गरेका छन् । आम आदमी पार्टीका प्रमुख समेत रहेका केजरीवालले बिहीबार दिल्लीमा बोल्दै भने, ‘आगामी पाँचदेखि दश वर्षसम्म हामी दिल्लीमै केन्द्रित हुनेछौं ।’

केजरीवालले दिल्लीभन्दा बाहेकका राज्यमा चुनाब लड्नुभन्दा पहिले दिल्लीकै जनताको जनादेश लिने समेत जानकारी गराए । भ्रष्टाचारविरोधी गैरसरकारी अभियानबाट एकैचोटि राजनीतिमा आएका केजरीवालको आम आदमी पार्टी अघिल्लो वर्षको डिसेम्बरमा दिल्लीमा पहिलो पार्टी भएपछि भारतमा चर्चित भएको थियो । उनी ४९ दिन दिल्लीमा मुख्यमन्त्री पनि भएका थिए ।

kejariwal
‘अन्य क्षेत्रमा निर्वाचन लड्ने कि नलड्ने भन्ने कुरा दिल्लीको निर्वाचनको परिणामपछि मात्रै हामी निर्णय लिन्छौं,’ ४६ वर्षीय केजरीवालले समाचार संस्था पिटिआइसँगको कुराकानीमा भने । केजरीवालसँग कसरी शासन गर्नुपर्छ भन्ने ढंगै थिएन भन्ने आलोचनाको ठाडो अस्वीकार गर्दै उनले जनताले आप पार्टीले दिएका सुविधाहरुको प्रशंसा गरेको समेत दाबी गरे ।

‘हामीले जुन गतिमा जनतालाई सुविधा दिएका थियौं, त्यसको प्रभावले हामीलाई जनताले फेरि जिताउनेछन्,’ उनले भने, ‘दिल्ली सरकारमा हामी फेरि आउनेमा विश्वस्त छौं ।’

केजरीवालले आफूलाई शासन गर्न नजान्ने भनेर आलोचना गर्ने भाजपा र कांग्रेसका नेताहरुलाई प्रतिप्रश्न गर्दै भने, ‘म उनीहरुलाई नै सोध्न चाहन्छु, विगत ६५ वर्षमा भाजपा नेताहरुले देशका थुप्रै राज्यमा सरकार चलाएका छन् । भ्रष्टाचार घटेको कुनै एउटा मात्रै राज्य उनीहरु मलाई भन्न सक्छन् ? कांग्रेसले पनि ६५ वर्षदेखि केन्द्र र राज्यमा शासन गर्दै आएको छ तर के उसले भ्रष्टाचार व्यवस्था गर्न सकेको छ ? हामीले त ४९ दिनमै केही गरेर देखाएका थियौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us