काठमाण्डु, २० कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालत पनि भ्रष्टाचारमुक्त नरहेको बताएका छन् ।
समयमै संविधान जारी गर्न माग राखेर ज्ञापनपत्र बुझाउन लाजिम्पाट पुगेका १३ विद्यार्थी संगठनका प्रतिनिधिसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा संस्थागत भ्रष्टाचार व्याप्त रहेको र कुनै पनि क्षेत्र अछुतो नरहेको उनको भनाइ थियो ।
उनले प्रधानन्यायाधीश रामकुमार शर्माले समेत अदालतमा भ्रष्टाचार रहेको स्वीकार गरेको जनाए । आफ्नो पार्टी भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने पक्षमा रहे पनि अख्तियारले विश्वविद्यालयमा गरेको हस्तक्षेपप्रति भने आपत्ति जनाए ।
उनले लाखौं विद्यार्थीको भविष्यसँग जोडिएको विश्वविद्यालय भद्रगोल हुने गरी भएको कारबाही उचित नभएको जनाए । ‘कतै पनि देउता छैनन्, अदालत, अख्तियार सबैतिर भ्रष्टाचार छ’ , उनले भने, ‘नेपालको शिक्षा क्षेत्र अस्तव्यस्त बनाउने नियतले कसैले काम गरेको हुन सक्छ ।’
नेपालको शिक्षा क्षेत्रले उत्पादन गरेका जनशक्ति अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने हैसियतका रहेको भन्दै प्रचण्डले आरोप लगाइएजस्तै अनियमिता रहेको भए गुणस्तरीय जनशक्ति कसरी उत्पादन हुन्छ ? भन्ने प्रश्न गरे ।
अख्तियारको हस्तक्षेपबारे दलहरुका बीचमा र सदनमा पनि अख्तियारको गतिविधिबारे विषयमा छलफल चलिरहेको जनाए । प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतमा आफूले पनि सदनमा कुरा उठाउने जनाए ।